उर्लाबारी । कोशी प्रदेश सभाले संसदीय समिति चयन गरेको छ । यद्यपि नेतृत्व चयनको विषय भने अझै टुंगो लाग्न सकेको छैन ।
प्रदेशसभाको आज बसेको बैठकमा सभामुखको हैसियतमा उपसभामुख सिर्जना दनुवारले ७ वटै संसदीय समितिको गठन गरेको जानकारी दिनुभएको छ । मोरङ क्षेत्र नं. १ को प्रतिनिधित्व गर्दै कोशी प्रदेशसभाकी सांसद शोभा चेम्जोङ र विद्या चाम्लिङ सामाजिक विकास समितिमा पर्नु भएको छ । उहाँहरु दुबै समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको हो । चेम्जोङ नेपाली कांग्रेस र चाम्लिङ एकीकृत समाजवादी पार्टीको प्रतिनिधित्व गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस्तै, मोरङ क्षेत्र नं. १ (१) बाट निर्वाचित उमाकान्त गौतम उद्योग पर्यटन तथा वातावरणमा पर्नु भएको छ भने मोरङ क्षेत्र नं. १ (२) बाट निर्वाचित खड्गबहादुर बस्नेत प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा रहनुभएको छ । प्रदेशसभाका ९३ जना सदस्यमध्ये मुख्यमन्त्री केदार कार्की र विना विभागीय मन्त्रीहरु गणेश उप्रेती, शम्शेर राई र कमलप्रसाद जबेगु तथा उपसभामुख सिर्जना दनुवार बाहेक सबै सांसदहरु संसदीय समितिमा रहनुभएको छ ।























