उर्लाबारी । उर्लाबारी प्रहरीले तिहारमा पटका, भूइँचम्पा, आतसबाजी जस्ता विस्फोटक पदार्थ नपड्काउन अनुरोध गरेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीले पटका, भूइँचम्पा, आतसबाजीजस्ता कार्यहरू कानूनद्वारा वर्जित गरिएकाले त्यस्ता कार्यहरू नगर्न अनुरोध गरेको हो । तिहार, नेपाल सम्वत, छठ तास पर्वका अवसरमा सुरक्षाका लागि आकस्मिक रूपमा चेक प्वाइन्ट खडा गर्ने र भिडभाड हुने स्थानमा निगरानी बढाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिनुभयो ।
लङ्गुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन समेत अपिल गरिएको उहाँले बताउनुभयो । नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भिडभाडमा सकेसम्म नजान समेत कार्यालयले अपिल गरेको छ । त्यस्तै, सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकको ओटिपी कोड सुरक्षित राख्न पनि अनुरोध गरिएको उहाँले बताउनुभयो । त्यस्तै, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अंकको मात्र चेक जारी गर्न पनि अनुरोध गरिएको उहाँको भनाई छ ।























