उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित इटहरा रोडमा रहेको दीपक कार्कीको घरमा आगलागी हुँदा नियन्त्रणमा गएका २८ जना घाइते भएका छन् ।
आगलागी भएको देखेर सटर खोल्ने क्रममा ४ जना प्रहरीसहित २८ जना आगोले जलेर घाइते भएका हुन् । घाइतेमध्ये १२ जनाको बी एण्ड सी अस्पताल विर्तामोड, ५ जनाको आर्या न्यूरो बिराटनगर, ७ जना बिराट नर्सिङ होम विराटनगर र ३ जना रेडक्रस बिराटनगरमा उपचार भइरहेको छ । लाईफ लाईन दमकबाट १ जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ । आर्या न्यूरो बिराटनगरमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी जवान दिल कुमार आचार्य र ऋदिकिरण राईमा उपचार भइरहेकोे छ । उनीहरुको दुबै हातको हत्केला, अनुहार,पिडुलालगायत विभिन्न भागहरुमा जलेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यस्तै, उर्लाबारी–७ का ४२ को कुमार तामाङ शरीरको विभिन्न भाग जलेको छ भने उनको अवस्था गम्भिर रहेको जनाइएको छ । त्यस्तै, बर्ष १४ को अलि बाबु मन्सुरको दुबै खुट्टा, हातमा पोलेको, अवस्था मध्यम रहेको छ । उनीहरुको आर्या न्यूरो बिराटनगरमा उपचार भइरहेको छ ।
त्यस्तै, उर्लाबारी–७ बस्ने बर्ष २३ को विशाल बस्नेतको अनुहार, हात पोलेको, बर्ष ३१ को शिव कुमार वि.क.को अनुहार, हात र छाती पोलेको, बर्ष ४३ को राम नरेश मरिताको टाउको,अनुहार र छाती पोलेको, बर्ष ५३ को दिनेश शर्माको अनुहार, छाती र दुबै हात पोलेको, बर्ष ४६ को दिपेन्द्र कार्कीको दुवै हात, छाती पोलेको, बर्ष २१ को सुमन चौधरीको अनुहार, हात र छातीमा पोलेको र बर्ष ६४ को कैलाश गुरुङको टाउको, अनुहार, छाती पोलेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरुको बिराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ ।
त्यस्तै, उर्लाबारी–७ बस्ने बर्ष ३१ को सुजन सेन्दाङ अनुहार दुबै हातमा जलेको, प्रहरी सहायक हबल्दार मनबहादुर घिसिङ शरिरको बिभिन्न भागमा जलेको, उर्लाबारी–७ कै बर्ष ४० को लालबहादुर लिम्बू हात खुट्टामा जलेको, बर्ष ४३ को कबिराज दाहाल, सोही वडाको बर्ष ४३ को तपन पण्डित, बर्ष २६ को बिक्रम साह, बर्ष ३४ को प्रकाश लिम्बू, बर्ष ६८ को रुकुमबहादुर कार्की, बर्ष ३७ को नबिन थापा, बर्ष ४९ को हेम कुमार दाहालको शरिरको विभिन्न भागमा जलेको छ । उनीहरुको अवस्था मध्यम रहेको छ । त्यस्तै, उर्लाबारी–७ कै बर्ष १५ को करण संग्रौला हातखुट्टा अनुहारमा जलेको र बर्ष ३८ को फोर सन्जितको हातखुट्टा जलेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरुको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।
त्यस्तै, उर्लाबारी–७ का बर्ष ४२ को तारामान सेरेङ अनुहार, दुबै हात खुट्टामा जलेको, बर्ष ३५ को राजन लुईटेल अनुहार, हातमा जलेको छ । उनीहरुको अवस्था मध्यम रहेको छ भने उर्लाबारी– ८ बस्ने बर्ष ३६ को नेत्र भण्डारी अनुहार ,ढाड,हातमा जलेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनी बोल्न नसक्ने अवस्थामा रहेका छन् । उनीहरुको रेडक्रस विराटनगरमा उपचार भइरहेको छ ।
त्यस्तै, उर्लाबारी नगरपालिका– ५ बस्ने बर्ष ५५ को रबि तामाङ हात खुट्टामा जलेको थियो । उनी लाईफ लाईन दमकमा उपचारपछि डिस्चार्ज भई घर फर्किसकेको प्रहरीले जनाएको छ ।
आगलागीबाट कार्कीको स्नेहा ज्वेलर्स जलेर नष्ट भएको छ भने बाग्मती प्रदेश ०१–०२५ च ६८४६ नम्वरको कार र मे ८ प ६५०६ नम्वरको मोटरसाईकलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । डेढ घण्टामा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो । आगलागी नियन्त्रणका लागि दमक, गौरादह नगरपालिका, कानेपोखरी, कमल गाउँपालिकाका दमकल आएका थिए ।























