उर्लाबारी । दीपावली सकिएसँगै उर्लाबारीमा छठको तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि उर्लाबारीका विभिन्न खोलानालालाई श्रृङ्गार्न थालिएको छ ।
कतिपय घाटमा सरसफाइ पनि गरिएको छ । उर्लाबारीको मावा, सोल्टी, रातेहोलीलगायत स्थानमा छठ पर्व मनाइने गरिएको छ ।
प्रत्येक वर्ष छठ मनाउनेहरू वृद्धि भइरहेकाले यस पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ । विगतभन्दा यस वर्ष छठ पर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीय राजेश चौधरीले बताउनुभयो । यसवर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अघ्र्य दिने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरु हुने गर्छ ।
छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ । यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको छ । अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त हुन्छ ।
पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा भीड लाग्ने गर्दछ । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको छ । छठ पर्वको मुख्य प्रसादका रूपमा रहेका ठकुवा, भुसबा, केरा, फलफूल, मीठाइ, अदुवा, मटोबाट बनेको हाती, कुर्वार, दियो, घैटो, उखुलगायत बासबाट बनेका अन्य सामग्री रहने गर्छ ।
छठका लागि उर्लाबारी नगर क्षेत्रका विशेष सुरक्षा व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दासले बताउनुभयो । छठ घाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उहाँको भनाइ छ । चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, भन्टा, मसुर आदि परित्याग गरी व्रत बस्ने गरिन्छ ।























