उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ मा कार्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
स्थानीय दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट राति १०ः३० बजेतिर अचानक आगलागी सुरु भएको थियो । आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए । घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मंगलबार बिहानका राति २ः४५ बजेतिर मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पण्डितको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उपचाररतमध्ये गम्भीर अवस्थाका ८ जनाको आईसीयूमा उपचार भइरहेको छ । प्रहरीका अनुसार आगलागीबाट ३ करोड ४१ लाखभन्दा धेरैको क्षति भएको थियो । आगलागीको कारण अझैसम्म खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दास नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।























