उर्लाबारी । झापाको विर्तामोडमा रहेको बी एण्ड सी अस्पतालले जीवनमरणको अवस्थामा रहेका बिरामीलाई बन्धक बनाएको कोशी प्रदेश सांसद उमाकान्त गौतमले गुनासो गर्नुभयो ।
कोशी प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएका १० जना बिरामीलाई अस्पतालले एक दिन बन्धक बनाएको आरोप लगाउनुभयो । सो अस्पताल दुर्गा प्रसाईँको हो ।
अस्पतालले बन्धक बनाएका कारण थप उपचारका लागि काठमाडौं पठाउन एक दिन ढिलो भएको उहाँले बताउनुभयो । उपचारका लागि लैजान ढिलो भएकै कारण एक जनाको मृत्यु भएको सांसद गौतमको दाबी छ ।
कात्तिक २६ गते उर्लाबारी नगरपालिका– ७ इटहरा रोडमा दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको सुनचाँदी पसलमा आगलागी निभाउने क्रममा सिलिण्डर विष्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए । घाइते मध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको कीर्तिपुरस्थित वर्न हस्पिटल मंगलबार बिहान मृत्यु भएको हो ।
आगलागीमा परि घाइते भएका उनलाई तत्कालै उपचारका लागि बी एण्ड सी अस्पताल पठाइएको थियो । २६ कात्तिक राति १० बजे भएको आगलागी परी घाइते भएका मध्ये १८ जनालाई विराटनगर र १० जनालाई झापाको विर्तामोड स्थित बी एण्ड सी अस्पताल पठाइएको थियो ।
भोलिपल्ट गम्भीर प्रकृतिका २४ घाइतेलाई काठमाडौं पठाउन नेपाली सेनाको हेलिकप्टर मगाइएको थियो । बी एण्ड सी अस्पतालले रेफर नदिएपछि विराटनगरबाट १४ जना घाइतेलाई मात्रै काठमाडौंको वर्न अस्पताल पठाइएको थियो । बी एण्ड सीले डिस्चार्ज नदिएका विरामीलाई एकदिनपछि मुख्यमन्त्री केदार कार्कीले भद्रपुर हुँदै वर्न अस्पताल पठाउनुभएको थियो । अस्पतालले बन्धक बनाएका घाइतेलाई मुख्यमन्त्री पुगेपछि मात्रै थप उपचारका लागि काठमाडौं पठाइएको उहाँले बताउनुभयो ।
‘घाइते मध्ये दुई जना विरामीलाई आफन्तले उपचारका लागि पट्न लिएर जानुभयो, बाँकी बिरामीलाई भोलिपल्ट तत्कालै उद्धारका लागि काठमाडौंबाट सेनाको एयरट्रक मगाएर विर्तामोड र विराटनगरका अस्पतालमा रहेका सम्पूर्ण विरामीलाई लिएर जाने व्यवस्थापन गरियो, तर बीचमा विर्तामोडको बीएण्डी अस्पतालले विरामीलाई डिस्चार्ज नदिएपछि जम्मा १४ जना विरामीलाई मात्रै सेनाको एयरट्रकमा राखेर वर्न अस्पताल कीर्तिपुरमा पठायौं,’ सांसद गौतमले भन्नुभयो, ‘फेरि पनि उहाँ (बी एण्ड सी)ले बिरामी दिन नमानेपछि मुख्यमन्त्री आफैं अस्पताल गएर भद्रपुर एयरपोर्ट हुँदै १० जना बिरामीलाई काठमाडौं पठाउने काम भयो ।’
अस्पतालले घाइतेलाई बन्धक बनाएर थप उपचारका लागि समयमा नै पठाउन नदिएको उहाँको दाबी छ । ‘जीवनमरणको लडाईँमा रहेका बिरामीलाई बन्धक बनाएर सरकारलाई चुनौति दिने, सरकारको अनुमतिमा सञ्चालन भएका अस्पताल र अस्पताल व्यवस्थापनप्रति खेद प्रकट गर्छु,’ उहाँले भन्नुभयो , ‘जसको कारणले गएराति तपन पण्डितको देहान्त भयो, एक दिन ढिलाइ गर्दा त्यो घट्ना (मृत्यु) घटेको छ ।’
सरकारले उपचार खर्च व्योहोर्छु भन्दा पनि अस्पतालले डिस्चार्ज नदिएको उहाँको भनाइ छ । ‘राज्य यति कमजोर हुनुहुँदैन, राज्यको अनुमतिमा सञ्चालित अस्पताल जसलाई नेपाल सरकारले सम्पूर्ण खर्चको जिम्मेवारी लिन्छु भन्दा भन्दै पनि एक दिन बिरामीलाई बन्धक बनाए,’ उहाँले भन्नुभयो, ‘राज्य कडा रुपमा प्रस्तुत हुनुपर्छ ।’ उहाँले आगलागीमा परि घाइते भएका गम्भीर विरामीलाई नेपालमा उपचार सम्भव नभए भारतमा लगेर उपचार गर्नका लागि माग गर्नुभयो ।
२६ कात्तिकमा सुनचाँदी पसलमा भएको आगो निभाउने क्रममा लिडिण्डर विस्फोट भएपछि चार प्रहरीसहित २८ जना घाइते भएका थिए । आगलागीबाट तीन करोड ४१ लाख बराबरको क्षति भएको अनुमान छ ।























