उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित दिपक कार्कीको स्नेहा ज्वेलर्समा भएको आगलागी नियन्त्रणको क्रममा घाइते भएकाहरुको स्वास्थ्य सुधारन्मुख हुँदै गएको छ ।
कार्तिक २६ गते लक्ष्मीपुजाको दिन भएको आगलागीमा परी २८ जना घाइते भएका मध्ये ५ जनाको उपचारको क्रममा काठमाडौंस्थित किर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो भने २० जनाको उपचार भइरहेको छ । १ जना आइसियु र अन्य १९ जनाको नर्मल वार्डमा उपचार भइरहेको उर्लाबारीका युवा कमल भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार आइसियु वार्डबाट उर्लाबारी–७ का विक्रम साहलाई पनि नर्मल वार्डमा निकालिएको छ । अहिले आइसियु वार्डमा उर्लाबारी–७ कै कविराज दाहालको उपचार भइरहेको छ । उहाँको पनि स्वास्थ्य सुधार भइरहेको डाक्टरहरुले जानकारी दिएको भण्डारीले जानकारी दिनुभएको छ । नर्मल वार्डमा उपचाररत रहेका केही घाइतेलाई डिस्चार्जसमेत गरिसकेको छ । तर, पनि उहाँहरु सोही अस्पतालमा उपचार गरिरहनुभएको छ । हात, खुट्टालगायतमा जलनको घाउ रहेका कारण थप उपचार गरिरहनुभएको छ । अस्पतालमा उपचार गराइरहनुभएका घाइतेहरुको अवस्था क्रमिक रुपमा सुधार भइरहेको नेपाली कांग्रेस उर्लाबारीका नगर सचिब राजन रायमाझीले बताउनुभयो ।
यसैबीच नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोले समेत अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । आइतबार अस्पताल पुगेर सह–महामन्त्री फागोले घाइतेहरुको उपचारका लागि कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायमा खबरदारी गर्ने बताउनुभएको छ । उहाँले घाइते र कुरुवाको खाना तथा खाजाको रकम नतिरेका कारण समस्या उत्पन्न भएकाले तत्काल समाधान गरिदिने बचन दिनुभएको छ । प्रदेश सह–महामन्त्री फागोले उपचाररत घाइतेहरुको उपचार कुनै समस्या हुन नदिन संघीय सरकार र प्रदेश सरकारसँग आफुले थप पहल गर्ने बताउनुभयो । उहाँले घाइतेहरुको अवस्था निकै सुधार भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले घाइतेको स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।
यस्तै, यसअघि उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेल, वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, ७ का वडाध्यक्ष उर्मिला थापा र ८ का वडाध्यक्ष कुलबहादुर कार्कीले घाइतेहरुको अस्पतालमै पुगेर उपचारका बारेमा चासो राख्नुभएको थियो । नेपाली कांग्रेस महासमिति सदस्य चिरञ्जीबी थापाले हालसम्म ९० हजार रुपैयाँ घाइते र कुरुवाका लागि आर्थिक सहयोग गर्नुभएको छ ।























