बेलबारी । मोरङको बेलबारीमा हात्तीको आक्रमणमा परेर लेटाङ घर भएका एक जना पुरुषको सोमबार बिहान मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–१० भाउन्नेमा जंगली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गरेको थियो । बाटो हिँड्नेहरुले जंगलमा बिहान १०ः३० बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । माझी लेटाङस्थित घरबाट बेलबारीको लक्ष्मीमार्गतर्फ साइकलमा आउँदै गरेको बेला हात्तीको आक्रमणमा परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनास्थल वरपर हात्तीको आवतजावत नियमित भइरहेको पाइएको छ ।
माझीले आफ्नो साथमा घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ मर्चा बोकेका थिए । मर्चा लिएर लक्ष्मीमार्ग बजारतर्फ आउँदै गर्दा घटना भएको प्रहरीको भनाई छ । घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थप्रति हात्ती बढी नै आक्रामक हुन्छ । घरेलु मदिरा बनाउने गरिएका घरहरुलाई लक्षित गरेर हात्तीले वितण्डा मच्चाउने गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्मार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरतर्फ पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।























