उर्लाबारी । उर्लाबारी आगलागी घटनामा परी घाइते बन्नु भएका ५ जनालाई मंगलबार डिस्चार्ज गरिएको छ ।
काठमाडौंस्थित किर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी–७ का लालबहादुर लिम्बू (सानु), सोही वडाका करण संग्रौला, घरबेटी दिपक कार्कीलाई डिस्चार्ज गरिएको हो । प्रहरी जवानहरु मोरङ लेटाङ– ५ निवासी मनबहादुर घिसिङ्ग र शिरिचोङ्ग गाउँपालिका– १ संखुवासभाका ऋषीकिरण राईलाई पनि डिस्चार्ज गरिएको छ । २१ दिन उपचार पश्चात ५ जनालाई अस्पतालले डिस्चार्ज गरेको उपचारका लागि समन्वय गरिरहनु भएका नेपाली कांग्रेस उर्लाबारीका सचिब राजन रायमाझीले जानकारी दिनुभयो । गत कार्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ ईटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा अचानक आगलागि हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । घाईते बनेकामध्ये उपचारकै क्रममा ५ जनाको निधन भएको थियो भने हाल सो अस्पतालमा १८ जना घाईतेहरु उचाररत रहेका छन् ।























