उर्लाबारी । उर्लाबारी–६ को बस पार्कको वाल भत्काइएको छ । बस पार्कको जग्गा संरक्षणका लागि लगाइएको वाल भत्काउँदा समेत उर्लाबारी नगरपालिकाले नदेखे झै गरिरहेको छ ।
यसअघिसमेत उर्लाबारी–६ का बालकृष्ण कार्कीले बस पार्कको पक्की वाल भत्काइदिएका थिए । यसरी पटक पटक राज्यको सम्पत्तिमा क्षति पु¥याउँदा समेत किन उर्लाबारी नगरपालिकाले कार्वाहीको दायरामा ल्याउन सकेको छैन । कि नगरपालिकाका प्रमुख भन्दा ती ब्यक्ति शक्तिशाली छन् भन्ने प्रश्न खडा भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११(२) को खण्ड (क) ले सावर्जनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सूरक्षा गर्ने कर्तब्य स्थानीय तहलाई तोकेको छ । तर, बस पार्कको वाल भत्काएर स्थानीय सरकारलाई एक ब्यक्तिले पटक पटक चुनौति दिँदै आएका छन् ।
यता उर्लाबारी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले भने नगरपालिकालाई वाल भत्काएको बारेमा जानकारी गराइसकेको बताउनुभयो । उहाँले कानुन विपरीत वाल भत्काउने काम भएको बताउनुभयो । उर्लाबारी बसपार्कको पक्कीवाल भत्काएर प्लटिङ गर्न खोजेको भन्दै स्थानीय विरोध जनाइरहेका छन् । राज्यको सम्पत्तिमाथी ब्यक्तिले धावा बोलिरहँदा स्थानीय सरकार मौन रहनु लाजमर्दो भएको स्थानीय बताउँछन् । राज्यको सम्पत्ति दोहन गर्न कसैलाई छुट नभएको भन्दै स्थानीयहरुले स्थानीय सरकार लाचार बन्न नहुने तर्क राखेका छन् । यस विषयमा उर्लाबारी नगरपालिकाले कस्तो चासो दिन्छ वा यसअघिकै जसो वाल भत्काउनेलाई उन्मुक्ति दिन्छ, त्यो भने हेर्न बाँकी छ ।























