उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय भवनको उद्घाटन भएको छ ।
नगरप्रमुख गंगाप्रसाद खरेलले बुधबार नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको हो । नवनिर्मित वडा कार्यालयको दुई तले पक्की भवनमा आठ कोठा रहेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउँदै नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो । जनताको आवश्यकतामा साथ दिन जनप्रतिनिधि हरदम तयार रहेको नगरप्रमुख खरेलको भनाई छ । आफुहरुको मुख्य उद्देश्य आर्थिक पारदर्शिता, स्थानीय जनताको अपनत्व र बलियो निर्माणका लागि भएको बताउँदै प्रमुख खरेलले उर्लाबारीबासी जनताको एकता र मेहेनतले मात्र सुन्दर उर्लाबारीको परिचय स्थापित हुने बताउनुभयो ।
वडा नम्बर ७ की वडाध्यक्ष उर्मिला थापाले आफ्नै भवनमा वडा कार्यालय आएपछि वडाबासीलाई छिटो र छरितो सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा वडा नं. १ को नवनिर्मित वडा कार्यालय भवनका लागि जग्गा दान गर्ने मनमाया कार्की, महेन्द्र कार्की, सीता कार्की, इश्वरी बस्नेत कार्कीलाई सम्मान गरिएको थियो भने सरसफाई अभियान्ता देवेन्द्र श्रेष्ठ र स्व. कुमार तामाङकी पत्नीलाई समेत सम्मान गरिएको थियो । उहाँहरु दुबैलाई नगद ५÷५ हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरिएको वडा सदस्य सन्तोष निरौलाले बताउनुभयो ।
वडा कार्यालय भवन निर्माणका लागि उर्लाबारी–७ की मनमाया कार्की, महेन्द्र कार्की, सीता कार्की, इश्वरी बस्नेत कार्कीको परिवारले ३ कट्ठा जग्गा निःशुल्क दिनुभएको वडा सदस्य सुमन कार्कीले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख मीना खतिवडा, समाजसेबी महेन्द्र कार्की, नेपाली कांग्रेस उर्लाबारीका सचिब राजन रायमाझीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य वडा सदस्य मनमाया तामाङले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन वडा सचिब विश्वनाथ दाहालले गर्नुभएको थियो ।























