उर्लाबारी । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कोही मर्नु नपर्ने बताउनुभएको छ ।
मोरङको रतुवामाई–४ झुर्कियामा रतुवामाई नगर अस्पतालको शिलान्यास गर्दै मन्त्री बस्नेतले कोही पनि नेपाली पैसाको कारण उपचारको अभावमा नमर्ने बताउनुभएको हो । सरकारले नागरिकको जसरी पनि उपचार गर्ने उहाँको भनाई छ । ‘कोही नेपाली पैसा नभएको कारणले अब उपचार गर्न नपाएर मर्दैन । त्यसको जिम्मा स्वास्थ्य मन्त्रालयले लिन्छ, त्यस मन्त्रालयको प्रमुख म हुँ, त्यसको जिम्मा म लिन्छु भनेर काम अघि बढाएको छु,’ उहाँले भन्नुभयो । नेपालको संविधानमा उल्लेख भए बमोजिम स्वास्थ्यमा सबै नागरिकको पहुँज हुनु पर्नेमा जोड दिँदै उहाँले अस्पतालहरुले १० प्रतिशत निःशुल्क उपचार गराउने प्रबन्धलाई पनि लागू गर्न सफल भएको दाबी गर्नुभयो । सुविधासम्पन्न अस्पतालमा मात्रै डाक्टर बस्ने प्रवृत्तिको अन्त्य भएको बताउँदै उहाँले ८ सय भन्दा बढी डाक्टरलाई दुर्गम क्षेत्रमा पठाएको बताउनुभयो । सिमित दरबन्दी रहेको उल्लेख गर्दै उहाँले २५÷३० हजार दरबन्दी चाँडै लिने तयारी गरिरहेको उहाँले बताउनुभयो । उर्लाबारी आगलागी घटनामा २५ जनाको सरकारले कुनै शुल्क नलिई उपचार गरिएको बताउँदै उहाँले उपचार नपाएका सयौं संख्याका बिरामीहरुको सरकारले निःशुल्क गरिदिएको बताउनुभयो । उहाँले रतुवामाई नगर अस्पताललाई सरकारको तर्फबाट हरेक हिसाबले सहयोग गर्न तयार रहेको बताउनुभयो ।























