
सुनसरीको बराहक्षेत्रमा प्रहरीले गाँजा कारोबारी नियन्त्रणका लागि गोली चलाएको छ।
प्रहरीले गोली लागेर रामप्रसाद लिम्बू घाइते भएका छन् र उनी उपचारका लागि धरान लगिएका छन्।
प्रहरीले शंकास्पद बोरा बोकेर हिँडिरहेका व्यक्तिहरूलाई रोक्न खोज्दा लिम्बूले खुकुरी प्रहार गर्न खोजेका थिए।
१० जेठ, विराटनगर । गाँजा कारोबारी नियन्त्रणमा लिनका लागि प्रहरीले सुनसरीको बराहक्षेत्रमा गोली चलाएको छ । शनिबार बेलुका करिब ८ बजे बराहक्षेत्र नगरपालिका–३ मा कालिन्द्र सामुदायिक बन क्षेत्रमा ३ राउण्ड गोली चलाएको हो ।
गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीले चलाएको गोली बराहक्षेत्र नगरपालिका – ३ का ५५ वर्षीय रामप्रसाद लिम्बू घाइते भएका हुन् । उनको दाहिने तिघ्रामा गोली लागेको छ । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।
शंकास्पद बोरा बोकेर हिडिरहेकाहरुलाई प्रहरीले रोक्न खोज्दा लिम्बूले खुकुरी प्रहार गर्न खोजेका थिए । अन्य भने बोरा छाडेर भागेका थिए । खुकुरी प्रहार गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाएको सुनसरी प्रहरी प्रमुख सुमन तिम्सिनाले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।