
काठमाडाैँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न मतगणनाबाट प्रतिद्धन्द्धी सुमन पुरीलाई हराउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत ल्याएका छन् । १ सय ८८ मत बढी ल्याउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरा सभागृहमा आज सकिएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए ।
थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका थिए ।
महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका थिए। ६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो ।