
उर्लाबारी । उर्लाबारी–३ मा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर अत्याधुनिक उपकरणहरू थपिएर सेवा विस्तारको प्रयास भइरहे पनि व्यवस्थापन पक्ष कमजोर हुँदा सेवाग्राहीहरू गम्भीर समस्यामा परिरहेका छन्।
डाक्टरको अभाव, सेवा प्रवाहमा ढिलाइ र व्यवस्थापनको असहजताका कारण बिरामीहरूले सस्तो र प्रभावकारी उपचारको आशामा पुगेको अस्पतालमा निराशा बोकेर फर्कनुपरेको छ।
सेवाग्राही राजेन्द्र आचार्य भन्छन्, “१ महिना थेरापी गर्नुपर्ने समस्या लिएर गएका थियौं। तर दिनहुँ दर्ताका नाममा अलमल्याइराखेका छन्। एकैदिन प्याकेज बिल काटिदिए, समय र खर्च दुवै बच्थ्यो नि त।” उनले थपे, “चेकजाँचका लागि तीन दिन कुर्नुपर्यो। ट्रमा सेन्टर भनिए पनि व्यवहारमा सुविधा नपाउँदा यो नाम मात्रैको ट्रमा सेन्टर बनेको छ।”
यस्तै अन्य सेवाग्राहीहरूले काउन्टरमा कर्मचारी थप्न, ओपीडी ४ नम्बर कोठामा डाक्टर वृद्धि गर्न र व्यवस्थापन सुधार गर्न आग्रह गरेका छन्।
यसैबीच अस्पतालका प्रमुख रबि साहले भने जनशक्ति अभाव, बिरामीको चाप र आन्तरिक व्यवस्थापन सुधारका लागि प्रयास भइरहेको बताए। तर स्थानीय बासिन्दा र सरोकारवाला निकायहरूले सुधारको गति सुस्त भएको भन्दै आक्रोश पोखिरहेका छन्।
यदि यथास्थितिमा सुधार आएन भने, सरकारी लगानीमा निर्माण भएको यो अत्याधुनिक ट्रमा सेन्टर जनताको विश्वास गुमाउने जोखिममा पर्ने देखिएको छ।
अबको प्राथमिकता : व्यवस्थापन सुधार र जनशक्ति विस्तार नभएसम्म अस्पतालको सेवा प्रणाली संकटमै रहनेछ। त्यसकारण अस्पतालमा आएका बिरामीहरूलाई सन्तुष्ट बनाएर पठाउन अस्पताल प्रशासन र समिति लाग्न अति जरुरी छ।