उर्लाबारी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उर्लाबारी–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा कडा चेतावनी दिँदै भनिन्, “स्वर्गीय मदन भण्डारीको विचार र सपना बिर्सनु राष्ट्रका लागि घातक हुनेछ।”

उनले प्रतिष्ठानद्वारा सञ्चालित शैक्षिक र सामाजिक कार्यक्रमहरूको अवलोकन गर्दै यस्ता संस्थागत प्रयासहरू सामाजिक रूपान्तरणका लागि अत्यावश्यक रहेको धारणा राखिन्। कार्यक्रममा राजनीतिक दलका नेता, शिक्षाविद्, सामाजिक अगुवा र जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

पूर्वराष्ट्रपतिले विपन्न र जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, महिला सशक्तिकरण, सीप विकास तालिम, प्राविधिक शिक्षा, युवामाझ सामाजिक चेतना अभिवृद्धि लगायतका विषयमा प्रतिष्ठानले गरिरहेको कामको प्रशंसा गर्दै भनिन्, “यस्ता प्रयासहरूलाई राज्यले साथ नदिए परिवर्तनको सपना अधुरै रहन्छ।”

भण्डारीले सोही अवसरमा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको अवस्थाबारे पनि जानकारी लिइन्। प्रदेश सांसद उमाकान्त गौतमले अस्पतालको बजेट, योजना र आगामी नीतिहरूबारे जानकारी गराएका थिए भने अस्पताल प्रमुख डा. रविकुमार शाहले सेवा विवरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी प्रमुख विनोद अर्यालले सयौं विद्यार्थी र समुदायका सदस्यहरूले कार्यक्रमहरूबाट प्रत्यक्ष लाभ उठाइरहेको बताउँदै आगामी दिनमा कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

पूर्वराष्ट्रपतिका कडा भनाइहरूले अब मदन भण्डारीको सपना साकार पार्न संस्थागत अभियानलाई अझ सशक्त बनाइने संकेत मिलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय