
उर्लाबारी । मोरङको मिक्लाजुङ–८ ले ज्येष्ठ नागरिकहरुलाई झुल, तन्ना र जुस वितरण गरेको छ ।
मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष पूर्णबहादुर कुँवर (प्रवेश) ले वडाभित्रका २ सय ३६ जना ज्येष्ठ नागरिकलाई झुल, तन्ना र जुस वितरण गरेको हुनुभएको हो । वडाध्यक्ष कुँवरले भन्नुभयो, ‘वडाको सानो सहयोगले उहाँहरु (ज्येष्ठ नागरिक)को मुहारमा देखिएको खुशीले मलाई सन्तुष्ट बनाएको छ । अझै केही गर्ने ऊर्जा थपेको महशुस गरेको छु ।’
कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले आगामी दिनमा गाउँपालिकाले ज्येष्ठ नागरिकको पक्षमा थप कार्यक्रम ल्याउने बताउनुभयो । ज्येष्ठ नागरिकलाई सेवा गर्नु सबैको दायित्व रहेको बताउँदै ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा सदस्य सन्तोष कार्की, वडा सचिव उमादेवी मगरलगायतको उपस्थिति रहेको थियो ।
ज्येष्ठ नागरिकहरुले झुल र तन्ना पाउँदा हर्षिद् देखिएका स्थानीयहरुले निर्वाचनमा सही मान्छेलाई भोट दिएर जिताएछौँ भन्ने महसुस भएको बताएका छन् । वडाध्यक्षको पहलमा वडा कार्यालयले ज्येष्ठ नागरिकहरुलाई सम्झेकोमा खुशी लागेको छ,’ मनमाया पोख्रेलले भन्नुभयो, ‘यस्ता कार्यक्रमले गाउँको सरकारको प्रत्यक्ष अनुभूति महसुस हुँदो रहेछ ।’
त्यस्तै, टिकेन्द्रप्रसाद दाहालले पनि वडाले सम्झेकोमा खुशी प्रकट गर्नुभयो । वडाध्यक्ष कुँबरले जनताको सेवामा बढी सन्तुष्टि मिल्ने भन्दै चुनाव जनताले मत दिएर गरेको गुण तिरिरहेको महशुस भएको बताउनुभयो । उहाँले जनताको सेवा तथा हकहितको निम्ति निरन्तर लागि रहने बताउनुभयो ।