उर्लाबारी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीप्रति देश तथा विदेशमा जनताको आकर्षण तीव्र गतिमा बढिरहेको बताउनुभयो ।
शनिबार मोरङको उर्लाबारीमा नेकपा माओवादी केन्द्र उर्लाबारीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । २०८४ सालको आमनिर्वाचनमा माओवादीलाई जिताउने उहाँको भनाई छ । ‘हामीमाथि अनेक भ्रम फैलाउने काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘तर सत्य चिन्न सक्ने नेपाली जनताले फेरि माओवादीतर्फ नै भरोसा देखाएका छन् । अबको युग हाम्रो हो ।’ ‘हामीले सरकारमा रहेर सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा महत्वपूर्ण काम गरेका छौँ । राम्रो काम गर्दा गर्दै षड्यन्त्रपूर्वक सरकारबाट बाहिरिनु परेपनि हामी हाम्रो अभियान लिएर जनताको घरघरमा पुग्यौँ,’ प्रचण्डले भन्नुभयो, ‘जनतासँग बसेर दुःख–सुख बाँड्यौँ । यही कारणले माओवादी केन्द्रप्रति जनताको विश्वास झनै बलियो बन्दै गएको छ ।’
उहाँले नेपाली कांग्रेस र नेकपा एमालेले माओवादीप्रति भ्रम सिर्जना गर्दै जनताको ध्यान अन्यत्र डो¥याउने प्रयास गरेको आरोप पनि लगाउनुभयो । राजतन्त्र पुनस्र्थापनाका आवाजहरूबारे टिप्पणी गर्दै प्रचण्डले भन्नुभयो, ‘राजावादी सलबलाएका छन्, तर जनताको मन जित्न सक्दैनन् । समय फेरिएको छ, जनताको फेरिनेबाला छैनन् ।’
अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा पार्टीले अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिक्रियावादी शक्तिहरू माओवादीको बढ्दो जनआधार देखेर आत्तिएको कारण षड्यन्त्रहरू भइरहेका बताउनुभयो । कार्यक्रममा ३ सय ७० जना विभिन्न पार्टी त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नयाँ प्रवेशकर्ताहरूलाई अध्यक्ष प्रचण्डले खादा र अबिर लगाएर स्वागत गर्नुभयो । नवप्रवेशी सदस्यहरूलाई पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले संगठनलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने उल्लेख गर्नुभयो । कार्यक्रममा केन्द्र, प्रदेश स्तरीय नेतादेखि स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । नगरकमिटीका सचिब पवन चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने नगरअध्यक्ष गजेन्द्र दंगालको सभापतित्वमा भएको थियो ।























