रतुवामाई — मोरङको रतुवामाई नगरपालिकाले आगामी आर्थिक वर्षमा वडा नं. ८ मा सन्थाल समुदायका लागि बस्ती निर्माण कार्य सुरु गर्ने भएको छ। समाजका पछाडि पारिएका र सीमान्तकृत समुदायहरूमध्ये पर्ने सन्थाल समुदायको दीर्घकालीन आवासीय समस्या समाधान गर्न नगरपालिका अगाडि बढेको हो।
नगरपालिकाले संघीय सरकारसँग सशर्त अनुदानका लागि गरेको मागअनुसार आगामी आर्थिक वर्षका लागि रु ६७ लाख बजेट विनियोजन भएको छ। यस रकमले बस्ती निर्माणका प्रारम्भिक कामहरू थालनी गरिने नगरप्रमुख नागेश्वर प्रसाद सिंहको सचिवालयले जानकारी दिएको छ। यस योजनाका लागि रतुवामाई नगरपालिकाले ६० प्रतिशत लगानी गर्नेछ भने संघीय सरकारले सशर्त अनुदानमार्फत ४० प्रतिशत बजेट उपलब्ध गराउनेछ ।
नगर प्रमुखको सचिवालयका अनुसार, “सन्थाल समुदायको जीवनस्तर उकास्न र दीर्घकालीन आवास सुरक्षाको प्रत्याभूति गर्न यो परियोजना महत्वपूर्ण हुनेछ। नगरपालिका आफैंले पनि थप बजेट विनियोजन गरी निर्माण कार्यलाई तीव्रता दिनेछ।”
बस्ती निर्माण योजनाअन्तर्गत बसोबासका लागि घर निर्माण, आधारभूत सुविधा पानी, विद्युत्, इन्टरनेट, र आवश्यक सामाजिक पूर्वाधार विकास गरिनेछ। स्थानीय समुदायको सहभागिता र सहकार्यमा योजना कार्यान्वयन गरिने बताइएको छ।























