
उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पस मोरङ जिल्लाको उर्लाबारी–४ मा अवस्थित एक प्रतिष्ठित शैक्षिक संस्था हो । यस क्याम्पसले २०४३ सालमा स्थापना भई स्नातकोत्तर स्तरसम्मको शिक्षा प्रदान गर्दै आएको छ । तर, पछिल्लो समय यो क्याम्पस राजनीतिक खिचातानीको चपेटामा परेको छ ।
उर्लाबारी बहुमुखी क्याम्पसको नयाँ सञ्चालक समिति गठन गरेर शैक्षिक सुधार र व्यवस्थापनमा सुधार गर्नु पर्नेमा राजनीतिक खिचातानी र प्रभावका कारण क्याम्पसको विकासमा अवरोध सिर्जना भएको छ । राजनीतिक खिचातानीका कारण उर्लाबारी बहुमुखी क्याम्पसको सञ्चालक समितिको निर्वाचन प्रक्रिया नै रोकिएको छ । पूर्वनिर्धारित तालिकालाई पटक–पटक परिवर्तन गर्दै आएको निर्वाचन समितिले शुक्रबारसम्म अन्तिम उम्मेदवार नामावली प्रकाशन गर्न नसकेपछि निर्वाचन प्रक्रिया नै रोकेको हो । राजनीतिक दलको भागबन्डा नमिलेपछि निर्वाचन समितिले राजनीतिक दलको ‘मतियार’ बन्दै निर्वाचन रोकेको उम्मेद्वारहरुले आरोप लगाएका छन् । आगामी भदौ ७ गतेभित्र क्याम्पसको चुनाव सम्पन्न गर्ने भन्दै निर्वाचन समितिले सूचना जारी गरेर निर्वाचन रोकेको छ । राजनीतिक दलको इसारामा निर्वाचन समिति चलेपछि चरम राजनीतिक खिचातानी देखिएको भन्दै उम्मेद्वारहरुले विरोध जनाएपनि कसैले सुनेनन् । १५ जनाका सदस्यका लागि ४० जनाको उम्मेद्वारी परेको थियो । कांग्रेस, एमाले, माओवादी, राप्रपा,जसपा, रास्वपालगायतका दलकासँगै केही स्वतन्त्रहरुले पनि उम्मेद्वारी दर्ता गराएका छन् ।
यसैबीच शनिबार निर्वाचन रोकेर क्याम्पसको २४ सौँ वार्षिक चुनावी क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष पुष्पलाल ढकालको अध्यक्षता तथा कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमको प्रमुख आतिथ्यमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूदेखि स्थानीय जनप्रतिनिधिसम्मको उपस्थिति रहेको थियो ।
कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष पुष्पलाल ढकालले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने क्याम्पस प्रमुख खेमराज कार्कीले शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसको हालको अवस्था र भावी योजनाबारे प्रकाश पार्नुभयो । यसअघि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा पनि यस क्याम्पसमा राजनीतिक हस्तक्षेप गर्दै सर्वसम्मत चयन गरिएको थियो । विधि र प्रक्रिया मिच्दै अन्तिम नामावली प्रकाशन भएपछि पनि सर्वसम्मतको हवला दिँदै नेतृत्व चयन गरिएको थियो । टिके प्रथाबाट चयन भएका केही विद्यार्थी नेता वैदेशिक रोजगारीमा समेत उडिसकेका छन् । बुहुमुखी क्याम्पसमा देखिएको राजनीतिक प्रभावले समग्र क्याम्पसको विकासमा असर पुग्ने देखिन्छ । उर्लाबारी बहुमुखी क्याम्पसमा बृहत सुधार आवश्यक रहेकाले आगामी दिनमा क्याम्पसको शैक्षिक सुधार र व्यवस्थापनमा सञ्चालक समिति चयनमा विशेष ध्यान दिन आवश्यक छ ।
अतः एकलौटीरुपमा क्याम्पस हाँक्ने भन्दा पनि छलफलबाट सहमतिमा क्याम्पसको विकास र सुधारमा सम्बन्धित सबै पक्ष लाग्न जरुरी छ ।