
उर्लाबारी । नेकपा (माओवादी केन्द्र) वडा कमिटी उर्लाबारी–७ ले बालिकाहरुमाथि यौन दुव्र्यवहार गर्ने शिक्षक तिर्थ श्रेष्ठलाई पक्राउ गरी कानुनी कार्वाही गर्न माग गरेको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मोरङको उर्लाबारी–७ स्थित राधिका माध्यमिक विद्यालयका शिक्षक श्रेष्ठलाई पक्राउ गरी कानुनी कार्वाही गर्न माग हो । बालिकाहरुमाथि यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
‘मन्दिरजस्तो मानेको विद्यालयका भगवान् सम्झेका शिक्षकद्वारा यस्तो हर्कत गर्नु खेदजनक र आपत्तिजनक छ’ वडा सचिब पुस्कर भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ झापा स्थायी घर भई उर्लाबारी–७ को राधिका माध्यमिक विद्यालयमा निमाबि तहको दरबन्दीमा कार्यरत शिक्षक श्रेष्ठले विद्यार्थी बालिकाहरुको गोप्य अंगमा हात लगाउने, औलाले चलाउने, कक्षा बन्द गरेर राख्ने, फर्क खोल्न लगाउने, भुइँमा सुत्न बाध्य पार्ने, प्रश्न सोधेर मानसिक दबाव दिने, कहिलेकाहीँ पिट्नेजस्ता हर्कत गरेको सार्वजनिक भएको छ ।’ उक्त घटनाबारे विद्यार्थीले अभिभावक र विद्यालयका फोकल पर्सनलाई जानकारी गराउँदासमेत कुनै चासो नदिएको र विगत २ बर्षदेखि शिक्षक श्रेष्ठले बालिकाहरुमाथि यौन दुव्र्यवहार गर्दै आएको तथ्य सार्वजनिक हुनु अत्यन्तै दुःखद घटना माओवादीको ठहर छ । शिक्षाको ज्योति फैलाउने स्थानमा यस्ता घटना हुनुले समग्र विद्यार्थीहरुको वर्तमान शैक्षिक जगतमा त्रास सिर्जना भएको र उक्त घटनाको दोषीलाई कानुनी दायरमा ल्याई हदैसम्मको कारवाही गरी पीडित बिद्यार्थी छात्रालाई उचित न्याय दिन जोडदार माग गरेको छ । कुनै पनि बहानामा उन्मुक्ति दिने चेस्टा भए त्यसविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने माओवादी वडा कमिटीले चेतावनी दिएको छ ।
मुलुकी अपराध संहिताको दफा २२५ (२) अनुसार कसैले करणीका आसयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अंग छोएमा वा समातेमा यौनसम्बन्धी आफ्नो अंग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग यौनसम्बन्धी अन्य कुनै यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बाल यौन दुरुपयोग हुने उल्लेख छ । यसो गरेमा तीन वर्ष कैद र ३० हजार जरिवाना हुने उल्लेख छ ।