
लेटाङ । लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि यथार्थपरक, सहभागितामूलक र जनउत्तरदायी बजेट निर्माण गरिएको घोषणा गरेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख भुपेन्द्र कुमार लावतीले नगरको समग्र विकासलाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
संघ तथा प्रदेश सरकारबाट प्राप्त समानीकरण र सशर्त अनुदानमा आएको कटौती र आन्तरिक स्रोतको सीमितता बीच पनि नगरले मितव्ययिताका साथ नीति र कार्यक्रम तय गरेको नगरप्रमुखले जानकारी दिए। “विकासलाई प्राथमिकता, खर्चमा अनुशासन” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै बजेट निर्माण गरिएको उनले स्पष्ट पारे।
नगरप्रमुखका अनुसार चालु वर्षको नीति तथा कार्यक्रम सुसंस्कृत र समृद्ध नगर निर्माणमा केन्द्रित छ। पूर्वाधार विकास, आर्थिक वृद्धि, सुशासन र नागरिक सन्तुष्टिलाई प्राथमिकता दिइएको छ।
मुख्य नीतिगत प्रावधानहरूमा कृषि र पर्यटन आधुनिकीकरण नगदेबाली, पशुपालन, रैथाने बाली प्रवर्द्धन, सिचाइ सुविधा विस्तार, नश्ल सुधार तथा यान्त्रिकीकरणमा जोड दिइनेछ। प्रमुख पर्यटन गन्तव्यहरूलाई गुरुयोजना अनुसार पूर्वाधार निर्माण र प्रचारप्रसार गरिने बताइएको छ।
यसैगरी सूचना प्रविधि पूर्वाधार, विज्ञान प्रयोगशाला, छात्रवृत्ति तथा कक्षा सुधारमार्फत शैक्षिक गुणस्तर उकासिनेछ। युवा र स्वयंसेवी संस्थाहरूलाई नगरस्तरीय क्रियाकलापमा संलग्न गरिने योजना छ।
त्यस्तै स्वास्थ्य संस्थाको सुदृढीकरण, उपकरण व्यवस्थापन, स्वास्थ्यकर्मी तालिम, रोग रोकथाम, तथा आयुर्वेद र योगको प्रवर्द्धन गरिने जनाइएको छ।
यसैगरी ज्येष्ठ नागरिक, अपाङ्ग, बालबालिका र विपन्न वर्गको संरक्षणलाई प्राथमिकता दिइनेछ। महिला सशक्तिकरण र जातीय–भाषिक विविधताको सम्मान गर्दै सहिष्णु समाज निर्माणमा जोड दिइएको छ।
गुरुयोजना अनुसार सडक स्तरोन्नति, मर्मत, विद्युत पहुँच, तथा गुणस्तरीय आवास विकासमा लगानी गरिने जनाइएको छ।
जलवायु परिवर्तन न्यूनीकरण, सिमसार तथा चुरे संरक्षण, नदी नियन्त्रण, फोहोरमैला व्यवस्थापन, विपद् पूर्वतयारी र पुनःस्थापनाका कार्यक्रम समावेश गरिएको बताइएको छ।
यता घाटा बजेट अन्त्य गर्दै यथार्थपरक अनुमानमा आधारित बजेट निर्माण गरिएको हो। सेवा प्रवाह छिटो, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
पत्रकार सम्मेलनको अन्त्यमा नगरप्रमुख लावतीले नीति तथा कार्यक्रम कानुनी प्रक्रिया पूरा गरेर ल्याइएको भन्दै कार्यान्वयनमा सबै पक्षको सहभागिता आवश्यक रहेको बताए। उनले भने, “हामी नीति कार्यान्वयनमा इमानदारीका साथ लाग्नेछौं, समृद्ध र सुसंस्कृत नगर बनाउने हाम्रो लक्ष्य हो।”
सत्रौं नगरसभाबाट पारित नीति तथा कार्यक्रमले नगरको समृद्ध यात्रा थप तीव्र हुने नगरपालिकाले बताएको छ।