
उर्लाबारी । किशोरीहरूमा आत्मविश्वास, सुरक्षा र सशक्तिकरणको भावना अभिवृद्धि गर्ने उद्देश्यले मोरङको उर्लाबारीमा ७ दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ ।
उर्लाबारी नगरपालिका मुख्य आयोजना तथा उर्लाबारी युवा क्लबको आयोजनामा ७ दिने आत्मरक्षा तालिम सम्पन्न भएको हो । असार ५ गतेदेखि उर्लाबारी–४ स्थित उर्लाबारी फुटसल मैदानमा भएको तालिममा सामुदायिक विद्यालयहरूबाट १८ जना किशोरीहरूको सहभागिता रहेको थियो । कोशी प्रदेशका प्रमुख आत्मरक्षा प्रशिक्षक प्रकाश बस्नेतको सहजीकरणमा भएको तालिम बुधबार सम्पन्न भएको छ । उर्लाबारी युवा क्लवका उपाध्यक्ष मनोज तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गंगा प्रसाद खरेल रहनु भएको थियो । विशिष्ट अतिथिमा नगर उपप्रमुख मिना खतिवडा पौडेल रहनुभएको थियो भने वडा नं. ५ का सदस्य विनोद धिमाल, रिटर्नी नगर अध्यक्ष सन्तोष दाहाल, सञ्चार क्लब नेपालका पूर्व अध्यक्षहरु जगन्नाथ भट्टराई, केदार चौहान, सरोज बस्नेत , संचार क्लव नेपालका उपाध्यक्ष सुमन घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि नगरप्रमुख खरेलले किशोरीहरूलाई सुरक्षित, सजग र आत्मनिर्भर बनाउने अभियानमा यस्ता तालिमहरूले टेवा पुग्ने उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई नगरपालिकाले अझ विस्तार गर्ने प्रतिबद्धता जनाउनु भयो । त्यस्तै, उपप्रमुख मिना खतिवडा पौडेलले तालिमले किशोरीहरूमा आत्मरक्षा मात्र नभई आत्मविश्वास र सामाजिक सशक्तिकरणको मार्ग खोल्ने विश्वास व्यक्त गर्नु भयो । तालिमको समापन अवसरमा सहभागी सबै किशोरीहरूलाई प्रमाणपत्र प्रदान गरिनुका साथै सुनपकुवा माविकी शान्ती भुजेललाई ‘उत्कृष्ट प्रशिक्षार्थी’ रुपमा सम्मान गरिएको थियो ।
तालिममा सहभागी किशोरीहरूले प्राप्त सीप र ज्ञानले आफूहरूलाई सशक्त बनाएको अनुभूति व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए । समापन कार्यक्रमको संचालन भने घनश्याम भण्डारीले गर्नु भएको थियो ।