
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले किसान पहिलो भन्ने अभियान साथ काम गरिरहेको बताउनुभएको छ।
आज धान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवस महत्त्वपूर्ण दिनको रुपमा रहेको बताउनुभएको छ। उहाँले जलवायु परिवर्तनले कृषिमा उत्पादनमा असर परिरहेको बताउँदै यसलाई ध्यानमा राखेर खेती गर्नुपर्ने औल्याउनु भएको छ। प्रदेश सरकारले किसान पहिलो भन्ने अभियानका साथ काम गरेको चर्चा गर्दै उहाँले यस वर्षको नीति कार्यक्रम र बजेटमा किसान पहिलो भन्ने विषयलाई प्राथमिकता दिएको शुभकामना सन्देशमा बताउनुभएको छ। पछिल्लो समयमा बसाईसराई र वैदेशिक रोजगारीले गर्दा कृषि क्षेत्रमा असर परिरहेको उल्लेख गर्दै उहाँले यसतर्फ ध्यान दिनुपर्ने जोड दिनुभएको छ। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्नका लागि पनि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभएको छ। त्यसैगरी मुख्यमन्त्री कार्कीले विराटनगरमा रहेको ओबी मिडियाले आयोजना गरेको धान रोपाई कार्यक्रममा धान रोप्नुभएको छ। सो अवसरमा उहाँले धान उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताउनुभयो।