मोरङ । मोरङको विराटनगर र पथरीशनिश्चरेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
विराटनगर महानगरपालिका–३ स्थित कोशी लोकमार्गको आयल निगम नजिक सोमबार बिहान ४:३५ बजे मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। ढाटबाट कञ्चनबारीतर्फ गइरहेको को ३७ प २६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका चालक सप्तरीको मधुवन घर भएका अन्दाजी २४ वर्षीय अरविन यादवलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।
त्यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्वागत टोलमा आइतबार राति १० बजेतिर अज्ञात सवारीसाधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
पथरीशनिश्चरे–२ का ६७ वर्षीय दिलमान साम्बालाई अज्ञात सवारीले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनलाई विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा सोमबार बिहान ३:३० बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए।
प्रहरीले ठक्कर दिने सवारीको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको जनाएको छ।























