उर्लाबारी । पूर्वी मोरङका पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको सञ्चार क्लब नेपालको अधुरो भवनमा बजेट विनियोजन नगरेको भन्दै नेपाली कांग्रेस उर्लाबारीले विरोध जनाएको छ ।
बिहीबार नगरप्रमुख गंगाप्रसाद खरेललाई ज्ञापनपत्र बुझाउँदै अधुरो भवन निर्माण पूरा गर्न बजेट विनियोजन नगरेको भन्दै विरोध गरेको हो । सभापति सुरेन्द्र लिम्बुले सञ्चार क्षेत्रको सशक्तिकरण नगरको समग्र सुशासन र विकासको आधार भएको उल्लेख गर्दै सञ्चार संस्थालगायत अधुरा भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाको उपेक्षा गर्न नहुने बताउनुभयो । उहाँले यस्ता विषयमा नगरपालिकाले गम्भिरतापूर्वक लिनु पर्ने बताउनुभयो ।
कांग्रेसले बजेट कटौतिको स्पष्ट कारण सार्वजनिक गर्नुपर्ने र आवश्यक परे बजेट संशोधनमार्फत आवश्यक रकम विनियोजन गर्नुपर्ने जोड दिएको छ । साथै, भविष्यमा बजेट निर्माण, संशोधन तथा कार्यान्वयन प्रक्रियामा सरोकारवालासँग समन्वय र पारदर्शिता कायम राख्नुपर्नेमा जोड दिएको छ ।
यसैबीच सञ्चार क्लबका अध्यक्ष कुमार खड्काले भन्नुभयो–‘नगरको बेथिति लेख्न पाइन्छ, तर त्यसले प्रतिसोध साध्नु हुँदैन । हामी नगर समुन्नत र विकासशील होस् भन्ने चाहन्छौं ।’ केही समयअघि जग्गा विवादमा जनप्रतिनिधिहरुको संलग्नता भन्ने समाचार प्रकाशनमा आएपछि कार्यपालिकाकै बैठकमा सञ्चार क्लबको भवन निर्माणमा पैसा नदिन एमाले जनप्रतिनिधिहरुले दबाब सिर्जना गरेको बुझिएको छ ।























