
मोरङ । मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारे र उर्लाबारी–२ जोड्ने तेलिखोलामा श्रमदानमार्फत बाटो निर्माण कार्य सम्पन्न गरिएको छ ।
उर्लाबारी वडा नं. ३ कार्यालयको पहलमा आयोजित उक्त श्रमदानमा हालै उपाधि जितेको मंगलबारे फुटबल क्लबका खेलाडीहरू, स्थानीय बासिन्दा तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो ।
श्रमदान कार्यक्रममा उर्लाबारी इलाका प्रहरी कार्यालयका नायब निरीक्षक चुडामणि पौडेलको नेतृत्वमा प्रहरी टोलीको समेत उल्लेखनीय सहयोग प्राप्त भएको थियो ।
वडा अध्यक्ष भीष्म बुढाथोकीका अनुसार, श्रमदानबाट निर्माण भएको बाटोले अब दैनिक आवतजावत, स्थानीय सञ्चार र आवागमनमा सहजता ल्याएको छ । उनले भने, “सामुदायिक सहकार्य, एकता र उत्तरदायित्वको भावनासहित सम्पन्न यो कार्यले स्थानीयहरूमा सकारात्मक सन्देश दिएको छ र उर्लाबारी–२ र ३ बीचको सम्बन्ध थप सुदृढ बनाएको छ।”
स्थानीयवासीहरूले वडा कार्यालय र श्रमदानमा सहभागी सबै पक्षप्रति आभार व्यक्त गर्दै यस्ता सामुदायिक पहलले विकास र आपसी एकता दुवैलाई बल पुग्ने विश्वास व्यक्त गरेका छन्।