विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दीपावली तथा भाइटिकाको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा “हाम्रो संस्कृति, हाम्रो गौरव” भन्ने मूल नाराका साथ यस पर्वले पारिवारिक एकता, माया र आपसी सम्बन्ध झन् प्रगाढ बनाउन सघाउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले देश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त भएकाले विविधता नै हाम्रो शक्ति भएको उल्लेख गर्नुभएको छ।

सन्देशमा उहाँले दीपावलीको उज्यालोले सत्य, न्याय र सद्भावको भावना फैलाउने र भाइटिकाले दिदीभाइबीचको आत्मीय प्रेम, माया र सम्मानलाई झन् प्रगाढ बनाउने अवसर प्रदान गर्ने बताउनुभएको छ। उहाँले नेपाली समाजको मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै परम्परा, धर्म र संस्कृति हाम्रो पहिचान भएको स्मरण गराउनुभएको छ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सबै धर्म, जाति र संस्कृतिको समान सम्मान गर्दै मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर कार्य गरिरहेको बताउनुभयो। उहाँले दीपावली र भाइटिकाजस्ता पर्वहरूले सामाजिक समरसता, सहकार्य र एकता बलियो बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

“यी पर्वहरूले नयाँ उत्साह, उमङ्ग र उर्जा सञ्चार गरी समाजमा सकारात्मक सोच र सहकार्यको वातावरण सृजना गर्न प्रेरणा दिन्छन्,” सन्देशमा भनिएको छ।

मुख्यमन्त्री कार्कीले पुनः सबै नेपालीमा दीपावली तथा भाइटिकाको मंगलमय शुभकामना व्यक्त गर्दै उज्यालो, सद्भाव र समृद्धिको कामना गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय