उर्लाबारी । शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन भएकी उर्लाबारी–३ मङ्गलबारेकी १४ वर्षीया आयुषा धिमाल शनिबार विराटनगरमा सुरक्षित अवस्थामा फेला परेकी छिन् ।
कानेपोखरी–५, दुम्रीघाटस्थित मामाघरबाट शुक्रबार दिउँसो २ बजे घर फर्किने क्रममा बेपत्ता भएकी आयुषा शनिबार बिहान करिब १० बजे विराटनगरको विजुली अफिस पश्चिमतर्फ भेटिएको उनका हजुरबुबा सुमन धिमालले जानकारी दिनुभयो ।
परिवार र मोरङ प्रहरीले संयुक्त रूपमा खोजतलास गर्दा मोबाइल फोनको लोकेशनमार्फत उनको अवस्थिति पत्ता लागेको थियो । प्रहरीको टोलीले उनी बसेको स्थानमा पुग्दा उनीसँगै झण्डै ३० वर्ष उमेर देखिने दुई जना महिलासमेत भेटिएका थिए ।
प्रहरीले आयुषा र ती दुई महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आयुषा केही दिनअघि तिहार मनाउनका लागि कानेपोखरीस्थित मामाघर आएकी थिइन् । शुक्रबार दिउँसो घर फर्किने क्रममा उनी सम्पर्कविहीन बनेकी थिइन् । परिवार र स्थानीयले रातभर खोजी गरे पनि नपाएपछि प्रहरीमा जानकारी गराइएको थियो । प्रहरीका अनुसार आयुषा हाल सकुशल छिन् र घटनाबारे थप अनुसन्धान जारी छ ।























