उर्लाबारी । तराई–मधेशका बजारहरूमा अहिले छठपर्वको चहलपहल छ । पूजाका सामग्री किनमेलमा भीड बढ्दै गएको छ भने नदी, पोखरी र जलाशयका घाटहरू आकर्षक रूपमा सजाइएको छ । तालजस्ता ऐतिहासिक जलाशयहरू नवदुलहीझैं सिंगारिएका छन् । यसैबीच, मोरङको उर्लाबारीलगायत सम्पूर्ण तराई–मधेश अहिले छठ गीतका मधुर स्वरले गुन्जायमान बनेको छ । छठ पर्वको तयारी उत्साहका साथ भइरहेकाले बजार, गल्ली र घरआँगनमा भक्तिमय वातावरण छाएको छ ।
उर्लाबारी मैथिली समाजका अध्यक्ष पवन चौधरीका अनुसार, उर्लाबारीका स्थानीय समुदायले यसपटक पनि परम्परागत रूपमा छठ पर्व मनाउने तयारी गरेका छन् । उहाँले भन्नुभयोे,‘छठ हाम्रो आस्था, संस्कृति र सहअस्तित्वको प्रतीक हो । अहिले उर्लाबारीका पोखरी र घाटहरू आकर्षक रूपमा सजाइएको छ, जसले सम्पूर्ण नगरलाई पर्वमय बनाएको छ ।’ उर्लाबारीका सोल्टी ,बकाहा, रतुवा, मावा नदी, स्थानीय पोखरी र जलाशयहरूमा अस्थायी मण्डप, बत्ती र रंगीचंगी सजावट भइरहेकाले सांस्कृतिक र धार्मिक वातावरण झन् मनमोहक बनेको छ । महिलाहरू उपवास बसेर सूर्य भगवानको आराधनाको तयारीमा व्यस्त छन् भने पुरुषहरू पूजाका सामग्री व्यवस्थापनमा जुटेका छन् । स्थानीय समाजसेवी र व्यवसायीहरूको सक्रिय सहभागितासँगै उर्लाबारीमा यस वर्षको छठ पर्व झनै भव्य र व्यवस्थित रूपमा मनाइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय