 
							विराटनगर । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशका विभिन्न सडक अवरुद्व भएका छन । निरन्तरको बर्षाका कारण पहिरो खस्दा मुख्य राजमार्गहरू तथा भित्री सडकहरू अवरुद्ध भएका छन् ।
मेची राजमार्गको इलाम खण्डमा ठाउँ–ठाउँमा पहिरो खस्नुका साथै सडक दबिँदा सवारी साधन सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार मेची राजमार्गको राजदुवाली क्षेत्रमा पुरानो पहिरोको नयाँ ट्र्याक भासिने क्रम बढेको छ ।
यस्तै, वैकल्पिक रूपमा प्रयोग गरिएको तिल्केनी–सिमलगोलाई सडकमा समेत ठाउँ–ठाउँमा पहिरो खसेको छ । बाढी र पहिरोको जोखिम उच्च बढेपछि इलाम प्रशासनले बिहीबार साँझदेखि नै यो सडक खण्डमा सवारी आवागमन बन्द गराएको थियो । रातभरको वर्षाले सडकमा थप क्षति पुगेकाले अहिले सवारी आवागमनमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
यस अघि पनि इलाममा आएको बर्षा पछि खसेको पहिरोका कारण लामो समय यातयत अवरुद्व भएको थियो । यसैगरी, सुनसरीको धरानदेखि धनकुटाको मूलघाट हुँदै पाँचथर र ताप्लेजुङलाई जोड्ने तमोर करिडोर पनि बाढीका कारण अवरुद्ध भएको छ ।
तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सिमावर्ती नावा खोलामा पानीको बहाव अत्यधिक बढेका कारण सवारी आवागमन ठप्प भएको हो ।


 
										 
										





 
												 
												 
												 
												 
												 
												











 
											



 
								 
								 
								 
								