विराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विद्युत प्राधिकरण र निजी क्षेत्रसँग देखिएको समस्या वार्ता र संवाद मार्फत टुंग्याउन आग्रह गर्नुभएको छ। आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री कार्कीले उद्योगहरुमा विद्युत लाइन काटिदा उत्पादन र रोजगारीमा असर परेको उल्लेख गर्दै वार्ता र संवाद मार्फत समस्या समाधान गर्न आग्रह गर्नुभएको हो । उद्योग बन्द हुँदा अर्थतन्त्रमा मात्र होइन रोजगारीमा समेत असर परेको मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभएको छ। नेपालमा आर्थिक क्षेत्रमा देखापरेको समस्या क्रमश समाधान हुँदै गइरहेको परिवेशमा गत भदौ २३ र २४ गते भएको प्रदर्शनले निजी उद्योग, सुपरमार्केट, कल कारखाना,सञ्चार क्षेत्रमा तोडफोड र आगजनी भई उत्पन्न भएको असुरक्षाका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरू निरुत्साहित हुने अवस्था सिर्जना भएकाले यसतर्फ ध्यान दिएर वार्ता र संवाद गर्दै सुरक्षा र उद्योग सञ्चालन गर्ने वातावरण बनाउन मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभएको छ। निजी क्षेत्र र सरकारबीच लामो समयसम्म असमझदारी रहनु दुखद हुने चर्चा गर्दै मुख्यमन्त्री कार्कीले यसको बहुआयामिक असरलाई मध्यनजर गरी उपयुक्त निकास निकाल्नुपर्नेमा जोड दिनुभएको छ। अर्थतन्त्रको महत्वपूर्ण स्तम्भ निजी क्षेत्र रहेकाले राज्य अभिभावक बन्नुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय