उर्लाबारी, उर्लाबारी नगरपालिका वडा नम्बर २ स्थित माथिल्लो डुम्रे क्षेत्रमा गुणस्तरिय र उच्च प्रविधियुक्त तटबन्ध निर्माण कार्य सुरु भएको छ । डुम्रे खोलादेखि तल्लो देविझोडाको दोभानसम्म करिब ३ किलोमिटर दुबै किनारामा तटबन्ध निर्माण हुने भएको हो ।
जापान सरकारअन्तर्गतको आर.आर.एन. संस्थाको आर्थिक सहयोगमा करिब ५ करोड ५८ लाख ११ हजार ४ सय ६८ रुपैयाँ लागतमा मंगलबारदेखि सो काम औपचारिक रूपमा प्रारम्भ गरिएको २ नम्बर वडाका वडाध्यक्ष राजन कडेँलले बताए ।
उक्त परियोजनाअन्तर्गत निर्माण हुने तटबन्धको माथिल्लो भागमा टिप्परलगायत सवारी साधन आवतजावत गर्न सक्ने व्यवस्था हुनेछ ।
सो काम ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको वडाध्यक्ष कडेँलले जानकारी दिए । उनकाअनुसार सो परियोजनामा जापानबाट आएका ४ जना इन्जिनियर र ६ जना सहयोगी प्राविधिक टोलीले प्रत्यक्ष रुपमा प्राविधिक पर्यवेक्षण गरिरहेका छन् ।
यसअघि सो वडामा पहिलो चरणमा सुनझोडा खोलादेखि देविझोडाको पुच्छर दोभानसम्म करिब २.५ किमी तटबन्ध र दोस्रो चरणमा देविझोडा सिरानदेखि वडा नम्बर- २ पुरानो मंगलबारे र वडा नम्बर ३ को चिहानडाँडा जोड्ने तेली खोलासम्म करिब २ किमी तटबन्ध निर्माण सम्पन्न भइसकेको छ।
वडाध्यक्ष कडेँलले तटबन्ध निर्माणसँगै सो क्षेत्रमा बाढीजन्य जोखिम कम हुने विश्वास व्यक्त गरेका छन्।
आर.आर.एन.(रुरल रिकन्स्ट्रक्सन नेपाल) ले नेपालमा ग्रामीण विकास, पूर्वाधार, विपद् व्यवस्थापन, दिगो कृषि, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको छ ।























