काठमाडौं,भदौ २३ र २४ गतेको आन्दोलनपछि २१ दलले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन गर्न मिति तोकेको छ। ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङको पार्टीका रूपमा चिनिएको उज्यालो नेपाल पार्टीले भने गत साउन २७ गते नै दर्ताका लागि निवेदन दिएको थियो। तर उक्त दलको अझै दर्ता प्रक्रिया टुङ्गिएको छैन। मंगलबार मात्र उक्त पार्टीले अध्यक्ष सहितको नयाँ केन्द्रीय समितिको विवरण आयोगमा बुझाएको छ। उक्त दलले बलेको चिम निर्वाचन चिह्न माग गरेको छ।
निर्वाचन आयोगका अनुसार भदौ २७ गते नयाँ सरकार गठन भएयता २० वटा दलले दर्ताका लागि निवेदन दिएका छन्। आयोगले उपलब्ध गराएको विवरण अनुसार गत कात्तिक २ गते एकैदिन तीन वटा राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका थिए। अजयकुमार राईको नेतृत्वमा राष्ट्रिय परिवर्तन पार्टी, गोपीलाल न्यौपानेको नेतृत्वमा नेपाल लिबरल पार्टी र हिराप्रसाद सोतीको नेतृत्वमा राष्ट्रिय जेन्जी पार्टी नेपाल दर्ताका लागि पुगेका थिए।
त्यसपछि कात्तिक ११ गते नेत्रविकम चन्द विप्लव महासचिव भएको पार्टी कम्युनिष्ट पार्टी नेपालले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ। अघिल्लो निर्वाचन बहिष्कार गरेको विप्लवको पार्टीले चुनावमा भाग लिनकै लागि दल दर्ताका लागि निवेदन दिएको हो।
त्यस्तै, कात्तिक १३ गते कबिर सोप नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी पनि दर्ताका लागि गएको छ।
कात्तिक १७ गते नवराज सुवेदीको जनयुग पार्टी, कात्तिक १८ गते खगेन्द्र सुनाको हाम्रो पार्टी नेपाल, कात्तिक १९ गते हिमालय बहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी आयोगमा दर्ताका लागि पुगेका छन्।
कात्तिक २१ गते एकैदिन ५ वटा पार्टीले आयोगमा दर्ताका लागि निवेदन दिएका छन्।























