उर्लाबारी, फाल्गुनन्द जयन्तीको अवसरमा उर्लाबारी नगरपालिका वडा नम्बर ३ मंगलबारेमा शनिबार आयोजना हुने ‘बिराट मेडिकल कलेज टिचिङ हस्पिटल प्रथम मंगलबारे क्रस कन्ट्री रन–२०८२’ को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक क्रस कन्ट्री क्लबले सहभागी धावकहरूको विवरण चेकजाँच गर्दै विप नम्बर तथा टी–सर्ट वितरण सम्पन्न गरेको जनाएको छ।
क्लबका अध्यक्ष प्रभू राईका अनुसार स्वयम्सेवक, आयोजक तथा व्यवस्थापन टिमलाई समेत टी–सर्ट वितरण गरिसकिएको छ। साथै ट्राफिक व्यवस्थापन, रुट व्यवस्थापन, जुस–खाजा र पानी वितरण, स्टेज व्यवस्थापन, प्रमाणपत्र तथा पुरस्कार वितरण, सफल धावक पहिचानलगायत कार्यका लागि जिम्मेवारी विभाजन समेत पूर्ण भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार हुने प्रतियोगिताका लागि सबै पक्ष तयारी अवस्थामा रहेको छ ।
उक्त रनमा ४ सयभन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा भारतको दार्जिलिङ, सिक्किम, मिरिकलगायत नेपालका भोजपुर, धरान, दोलखा, बाग्लुङ, विराटनगर, तरहरा लगायतका स्थानबाट धावकहरू सहभागी हुनेछन्। यसैबीच बिहीबार साँझ पारा–एथलिट नवराज कार्की समेत रनमा सहभागिताका लागि मंगलबारे आइपुगेका छन्। दोलखा जिल्ला जिरी नगरपालिका–८ खावा पखेराका ४१ वर्षीय कार्की गत वर्षको ‘उर्लाबारी रन–२०८१’ मा १० किलोमिटर पुरुष भेट्रानतर्फका विजेता हुन्। उनले सो दूरी ४२ मिनेट ७ सेकेन्डमा पूरा गरेका थिए। भोली विहान हुने रनलाई सफल तथा आकर्षक बनाउन आवश्यक सबै प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको सचिब नुतन राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय