उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा ‘म तिर्छु कर, बनाउँछु उर्लाबारी नगर’ भन्ने मुल नारासहित राजश्व अभिवृद्धि तथा बजार अनुगमन अभियान सुरू गर्ने भएको छ ।
बिहीबार अभिमुखिकरण कार्यक्रम सम्पन्न गर्दै नगरपालिकाले एक महिनासम्म ९ वटै वडामा अभियान सञ्चालन हुने जानकारी दिएको हो । शुक्रबारदेखि सुरू हुने यो अभियानअन्तर्गत प्रचार–प्रसारका लागि माइकिङ, घरदैलो, अनुगमन तथा तथ्यांक संकलन गरिने आन्तरिक लेखा परीक्षण शाखाका अधिकृत कुबेर ढकालले बताउनुभयो । उहाँका अनुसार अब नगरवासीले विश्वका जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत कर भुक्तानी गर्न सक्ने प्रणालीसमेत लागू गरिएको छ ।
नगरका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले कर प्रणालीलाई अझ व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन अभियान थालिएको बताउनुभयो । ‘नागरिकलाई करसम्बन्धी आवश्यक जानकारी सरल र सहज ढंगले उपलब्ध गराइनेछ’, उहाँले भन्नुभयो । उपप्रमुख मिनाकुमारी पौडेलले कर प्रणाली प्रभावकारी बनाउन नागरिकको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै, उहाँले भन्नुभयो,‘नागरिकबाट उठ्ने कर नै नगर विकासको मूल आधार हो । समयमै कर तिरेर उर्लाबारीको समग्र विकासमा सबैले साथ दिनुपर्छ’ ।
नगरप्रमुख गंगाप्रसाद खरेलले कर तिर्ने संस्कृतिलाई संस्थागत नगरी विकास सम्भव नहुने बताउँदै, ‘उर्लाबारीलाई आधुनिक, सुदृढ र स्मार्ट नगर बनाउने हाम्रो लक्ष्य कर प्रणाली सुदृढीकरणबाटै पूरा हुनेछ’, भन्दै कर सम्बन्धी जनचेतना अभिवृद्धिमा नगरले विशेष पहल गर्ने बताउनुभयो ।
अभियानको अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरीले, नगरप्रहरी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको कर्मचारी सुमित खवासले जानकारी दिनुभयो ।























