उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मीना कुमारी खतिवडा पौडेलले निर्माणाधीन उर्लाबारी बसपार्क टर्मिनल भवनको, इन्जिनियर तथा प्राविधिक टोलीसँगै स्थल अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा फस्ट फ्लोर स्ल्याब कास्टिङको गुणस्तर परीक्षण, क्युब टेस्ट (३ सेट नमूना) सहितका प्राविधिक परीक्षणहरू सम्पन्न गरिएका छन्।
उक्त बसपार्क उर्लाबारी–६ स्थित हाल शुक्रबारे बजार लाग्दै आएको एक बिगाहा १३ कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको छ। आयोजना अन्तर्गत टर्मिनल भवन, रनवे, सपोर्टवाल, ड्रेनेज, मुख्य राजमार्ग–बसपार्क जोड्ने कालोपत्रे पहुँचमार्ग, स्थानीय तथा लामो दूरीका सवारीका लागि पार्किङ क्षेत्र, प्रतीक्षालय लगायत आवश्यक पूर्वाधार निर्माण भइरहेको छ।
अनुगमनका क्रममा वडा नं. ६ का सदस्य मान बहादुर ढिमाल, नगरपालिकाका योजना शाखा प्रमुख विकास दाहाल, इन्जिनियर पोखराज शाह, इन्जिनियर रोशन उदास, इन्जिनियर कञ्चन भट्टराई लगायत निर्माणसँग सम्बन्धित प्राविधिक तथा सरोकारवाला अधिकारीहरूको उपस्थिति थियो।
अनुगमनसन्दर्भमा उप–मेयर पौडेलले विकास योजनामा विनियोजित बजेटको सही सदुपयोग होस् र निर्माण कार्य गुणस्तरीय बनोस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्रता दिएको बताउनुभयो। उनले अनुगमनका माध्यमबाट कामको प्रगति स्पष्ट देखिनुका साथै कुनै कमी–कमजोरी भेटिएमा तत्काल सुधार गर्न सकिने भएकाले निरन्तर अनुगमन अत्यावश्यक रहेको धारणा राख्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय