उर्लाबारी । झापा जिल्लाको दमक नगरपालिका–४, चिया दोकान चोकमा निर्माण गरिएको ‘पावर फिटनेस जिम सेन्टर एण्ड पार्क’ शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
शनिबार जिम सेन्टरको उद्घाटन स्थानीय समाजसेवी मानबहादुर देउजाले गर्नुभएको हो । करिब १ करोड रुपैयाँको लगानीमा तयार गरिएको यो फिटनेस जिम सेन्टरमा दमकका स्थानीय युवायुवतीका लागि आधुनिक फिटनेस सुविधासहितको आकर्षक गन्तव्य बनेको छ ।
जिमका व्यवस्थापक होम चापागाईंका अनुसार, अत्याधुनिक मेसिन, कार्डियो जोन, स्ट्रेन्थ ट्रेनिङ, एरोबिक्स लगायतका विविध सेवा एकै छानामुनि उपलब्ध गराइएको छ । जिममा पहिलो दिनदेखि नै सदस्यहरूको उल्लेख्य उपस्थितिले दमकवासीको स्वास्थ्यप्रतिको चासो र उत्साह झल्काएको छ । स्थानीय युवाको सक्रियतामा स्थापना भएको जिमको संयोजक गुरुप्रसाद मैनाली (निर्मल) का अनुसार, ‘युवालाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीतर्फ मार्गनिर्देशन गर्ने उद्देश्यले जिम स्थापना गरिएको हो ।’ उद्घाटन कार्यक्रममा स्थानिय युवा–युवती, समाजसेवी तथा व्यापारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उद्घाटनसँगै युवा सशक्तिकरणमा ‘पावर फिटनेस जिम सेन्टर एण्ड पार्क’ले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय