उर्लाबारी । जेनजी प्रदर्शनका घाइते र सहिद परिवारलाई समेटेर गठन भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’ घोषणा कार्यक्रम झापामा हुने भएको छ ।
झापाको कमल गाउँपालिका–५ स्थित आदिबासी रंगशालामा मंसिर २७ गते शनिबार पार्टी घोषणा कार्यक्रम गर्ने भएको हो । बुधबार मोरङको पथरीशनिश्चरेमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीकी मोरङ संयोजक दुर्गा तामाङले जेनजीहरुको आन्दोलनबाट देशमा आमूल परिर्वतन भएपनि शहिद र घाइतेको हितमा काम हुन नसकेको भन्दै दुःख प्रकट गर्नुभयो । भ्रष्टाचारविरुद्ध तत्काल ठोस कदम सुरु गर्नुपर्ने, प्रत्यक्ष कार्यकारीको दिशामा स्पष्ट रोडम्याप तयार गर्नुपर्ने, सहिदहरूको रगतको सम्मान हुनुपर्ने तथा घाइतेहरूको उपचार, पुनस्र्थापना र भविष्यको ग्यारेन्टी सुनिश्चित गर्नुपर्ने प्रमुख माग पार्टीले अघि सारेको उहाँले जानकारी दिनुभयो ।
‘जब चुनाव फेस गर्ने पर्ने अवस्था बनाइँदैछ, हामी किन हाम्रै मुद्दा छोडेर अर्काको चिह्नमा भोट हालिदिन कुर्ने ? हामी बुझ्छौं, हामी जितेर मात्र हाम्रा मागहरू हामी स्वयं पूरा गर्न सक्छौं । यही बुझाइ, यही जिम्मेवारी र यही दृढ हेतुले यो पार्टी खोलेर अघि बढेको हो,’ सदस्य गोमा राईले भन्नुभयो । जेनजी प्रदर्शनका घाइते र सहिद परिवारलाई समेटेर राष्ट्रिय परिवर्तन पार्टी गठन भएको उहाँले जानकारी दिनुभयो । घाइते र सहिद परिवारको पक्षमा अग्रमोर्चामा रहेर काम गर्ने उहाँको भनाई छ ।
त्यस्तै, पार्टीका पथरीशनिश्चरेका संयोजक राकेश राईले झापामा पार्टी घोषणासँगै जेनजी आन्दोलनलाई संस्थागत गरेर अघि बढ्ने बताउनुभयो । उहाँले सबैलाई मंसिर २७ गते शनिबार झापाको कमल गाउँपालिका–५ स्थित आदिबासी रंगशालामा सहभागी हुन सबैमा अपिल गर्नुभएको छ । पार्टी घोषणा सभामा २० हजार सहभागी रहने बताइएको छ । उक्त कार्यक्रममा घाइते तथा शहिद परिवारका सदस्यहरुको पनि सहभागिता रहने छ ।























