उर्लाबारी । राष्ट्रिय परिवर्तन पार्टी मोरङको जिल्ला स्तरीय घोषणासभा पौष ७ गते सोमबार बेलबारीमा आयोजना हुने भएको छ ।
जेनजी आन्दोलनका क्रममा शहिद भएका तथा घाइते युवाहरूको संघर्षबाट जन्मिएको पार्टीका रूपमा राष्ट्रिय परिवर्तन पार्टीले आफूलाई स्थापित गर्न खोजेको छ । पार्टीकी मोरङ संयोजक दुर्गा तामाङका अनुसार घोषणासभा केवल औपचारिक कार्यक्रम मात्र नभई राज्य व्यवस्थाप्रति असन्तुष्ट युवा पुस्ताको आवाजलाई संगठित रूपमा अघि बढाउने ऐतिहासिक थलो बन्नेछ ।
‘जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरू र घाइते बनेका युवाहरूको बलिदानलाई संस्थागत गर्ने उद्देश्यले पार्टी स्थापना गरिएको हो,’ तामाङले भन्नुभयो,‘अब युवाहरू चुप लागेर बस्दैनन्, परिवर्तनका लागि प्रत्यक्ष राजनीतिमा हस्तक्षेप गर्छन् ।’ उहाँका अनुसार घोषणासभामा पार्टीको राजनीतिक दृष्टिकोण, आगामी कार्ययोजना र संगठन विस्तारसम्बन्धी स्पष्ट खाका सार्वजनिक गरिनेछ । साथै, जेनजी आन्दोलनमा सहभागी परिवार, घाइते युवा, नागरिक समाज र परिवर्तन चाहने आम नागरिकलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरिएको छ । बेलबारीमा हुने घोषणासभाले मोरङसहित पूर्वी नेपालमा वैकल्पिक राजनीतिक धारको बहसलाई थप तीव्र बनाउने अपेक्षा गरिएको छ । राष्ट्रिय परिवर्तन पार्टीले भ्रष्टाचार, बेरोजगारी र राजनीतिक अस्थिरताको अन्त्य गर्दै युवामैत्री राज्य निर्माणलाई मुख्य एजेन्डा बनाएको जनाएको छ ।























