मोरङको बेलबारीमा राष्ट्रिय परिवर्तन पार्टीको जिल्ला स्तरीय घोषणासभा सोमबार सम्पन्न भएको छ । जेनजी आन्दोलनका क्रममा शहिद भएका तथा घाइते युवाहरूको संघर्षबाट जन्मिएको पार्टीका रूपमा राष्ट्रिय परिवर्तन पार्टीले आफूलाई स्थापित गर्दै वैकल्पिक राजनीतिक धार अघि सारेको छ ।
पार्टीकी मोरङ संयोजक दुर्गा तामाङले घोषणासभा केवल औपचारिक कार्यक्रम मात्र नभई राज्य व्यवस्थाप्रति असन्तुष्ट युवा पुस्ताको आवाजलाई संगठित रूपमा अघि बढाउने ऐतिहासिक थलो बनेको बताइन् । उनले परिवर्तन चाहने युवाहरूलाई वैचारिक र सांगठनिक रूपमा एकताबद्ध गर्दै देशलाई नयाँ राजनीतिक विकल्प दिनु नै पार्टीको मूल उद्देश्य रहेको स्पष्ट पारिन् ।
प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष राजेश पोर्तेल रहेका थिए भने विशेष अतिथिका रूपमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीय अगुवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो ।
घोषणासभाकै अवसरमा विभिन्न राजनीतिक दल परित्याग गर्दै ५६ जनाले राष्ट्रिय परिवर्तन पार्टीमा प्रवेश गरेका छन् । सभामा सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिनु पार्टीप्रति जनचासो बढ्दो क्रममा रहेको संकेत भएको सहभागीहरूको भनाइ थियो । यसैबीच पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट आफ्ना उम्मेदवारहरू समेत सार्वजनिक गरेको छ । जसअनुसार प्रत्यक्षतर्फ अन्जु राईलाई उम्मेदवार बनाइएको छ भने समानुपातिकतर्फ दुर्गा तामाङ, राजकुमार धिमाल र धनबहादुर सुनवारलाई उम्मेदवारका रूपमा अघि सारिएको छ ।
राष्ट्रिय परिवर्तन पार्टीले युवाको नेतृत्व, सुशासन र वैकल्पिक राजनीतिक धारलाई सुदृढ बनाउँदै आगामी निर्वाचनमार्फत संसदमा प्रभावकारी उपस्थिति जनाउने लक्ष्य लिएको जनाएको छ ।























