काठमाडौ । प्रमुख तीन दलका शीर्ष नेता चुनावमा जान सकारात्मक देखिएका छन् ।
आज राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र ३ ठूला दलका शीर्ष नेताबीच भएको छलफलमा फागुन २१ गते तोकिएको चुनावका लागि वातावरण बनाउने समझदारी भएको हो ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपरान्ह प्रधानमन्त्री कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलमा सहमति भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
उनका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ।























