मोरङ । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङ निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार पूर्ण वाइबा को चुनावी अभियान प्रभावकारी बन्दै गएको छ । गाउँ–गाउँमा सञ्चालन भइरहेको घरदैलो कार्यक्रमसँगै उहाँको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ ।
शुक्रबार वाइबाले मिक्लाजुङ गाउँपालिका–३ तथा केराबारी गाउँपालिका–९ का विभिन्न टोलबस्तीमा पुगेर मतदाता तथा समर्थकसँग प्रत्यक्ष भेटघाट गर्नुभयो । घरदैलोका क्रममा मिक्लाजुङ–३ को सुन्दरीचौकमा स्थानीयवासीले स्वच्छ खानेपानी, सिँचाइका लागि पर्याप्त बोरिङ तथा व्यवस्थित ढल निकाससहित सडक निर्माणलाई प्रमुख आवश्यकता रहेको बताएका थिए ।
स्थानीय समस्याहरू सुनेपछि वाइबाले जनताका आधारभूत आवश्यकताको सम्बोधन आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पार्नुभयो । उहाँले हरेक संकट र अप्ठ्यारो परिस्थितिमा जनतासँगै उभिने प्रतिबद्धता व्यक्त गर्दै विकासलाई व्यवहारमै उतार्ने नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो ।
मतदाताहरूले राप्रपाले अघि सारेको राष्ट्रिय एजेन्डा तथा वाइबाको इमान्दार, सरल र प्रतिबद्ध राजनीतिक छविप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा निरन्तर साथ दिने अठोटसमेत जनाएका छन् ।
त्यसैगरी केराबारी–९ को बेलचौरी टोलमा पुगेका वाइबालाई स्थानीय मुसहर समुदायले आत्मीय स्वागत गरेका थिए । सो अवसरमा राप्रपा मोरङ जिल्ला उपाध्यक्ष धर्म शाक्यले निर्माणाधीन हनुमान मन्दिरका लागि हनुमानको मूर्ति सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
स्थानीय समस्या र सम्भावनालाई नजिकबाट बुझ्दै नागरिकसँग प्रत्यक्ष संवाद गरिरहेका कारण पूर्ण वाइबा यस क्षेत्रका मतदातामाझ भरोसायोग्य नेतृत्वका रूपमा स्थापित हुँदै गएको देखिन्छ । निरन्तर बढ्दो जनलहरका कारण मोरङ–१ मा उहाँको जित सुनिश्चित बन्दै गएको राजनीतिक वृत्तको आकलन छ ।























