झापा ।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नै गृहजिल्ला झापामा चुनावी घरदैलो र मतदाता भेटघाटमा व्यस्त हुँदैछन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका ओलीले आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने तालिका रहेको छ ।
बिहान ९ः३० बजे दमक–९ स्थित चिया दोकानमा पुगेर उनले स्थानीय मतदातासँग चिया पिउँदै मनका कुरा सुन्ने गरिएको छ । । नेता र जनताबीचको दूरी मेटाउन भन्दै दमकको कार्यक्रम सकिएलगत्तै ओली दक्षिणी क्षेत्र गौरीगञ्ज प्रस्थान गर्नेछन् । एमाले झापाका जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज विशेषगरी गौरीगञ्जमा केन्द्रित हुनेछन् । त्यहाँ उनले लगातार ७ घण्टा लगाएर १२ वटा टोलका मतदातालाई भेट्ने कार्यतालिका छ ।
बिहान ११ बजेदेखि सुरु हुने गौरीगञ्जको भेटघाट अभियान बेलुकी ५ बजेसम्म चल्नेछ । यस क्रममा उनले गौरीगञ्ज–५ का शैँय्या टोल, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर र नयाँ बजारका मतदातासँग अन्तरक्रिया गर्नेछन् ।
गौरीगञ्ज–३ का बगुवातेलकानी, ठेकीटोला र तेलकानी टोलहरूमा पनि ओली पुग्नेछन् । यस्तै, बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीमा समेत मतदाता भेटघाट कार्यक्रम राखिएको छ ।
यसअघि पनि पटक–पटक आफ्नो क्षेत्रका मतदातासँग संवाद गरिसकेका ओलीले आजको भेटमा मुख्यतया स्थानीय समस्या, विकासका आवश्यकता र मतदाताका गुनासाहरू सुन्ने बताइएको छ । मतदाताका समस्यालाई नजिकबाट बुझ्ने र ती समस्या समाधानका लागि ठोस प्रतिबद्धता जनाउने ओलीको लक्ष्य रहेको सचिव कार्कीले जानकारी दिए ।
निर्वाचनको मिति नजिकिँदै गर्दा एमाले अध्यक्ष ओलीले टोल–टोलमा पुगेर मतदातालाई रिझाउन थालेपछि झापा–५ को चुनावी सरगर्मी अझै बढेको छ ।























