नेपाली कांग्रेसमा आबद्ध भई लामो राजनीतिक यात्रा तय गरिसकेका नागेश्वर प्रसाद सिंह एक निष्ठावान समाजसेवीका रूपमा चिनिन्छन् । राजनीतिक मात्र होइन, उत्तिकै लामो समयसम्म प्रधानाध्यापकका रूपमा कैयौँ विद्यार्थीहरूको ज्ञान र उज्ज्वल भविष्य निर्माण गर्ने एक कुशल तथा सम्मानित गुरुजन पनि हुन् । आर्थिक र सामाजिक परिवेशलाई विकास र समृद्धिमा रूपान्तरण गर्ने माध्यम नै शिक्षा हो भन्ने विचारका सिंह २०७९ सालदेखि जनप्रतिनिधिका रूपमा रतुवामाई नगरपालिकाको नगर प्रमुखको हैसियतले जनतामाझ रहेका छन् । त्यसैले उनी अहिले पनि नगर प्रमुखको भूमिकामा रहँदै आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेका छन् । नगर प्रमुख भएपछि तपाईंबाट के कस्ता कार्ययोजनाहरू कार्यान्वयन भए, कति भइरहेका छन् र कति बाँकी छन् भन्ने विषयमा उहाँसँग गरिएको कुराकानीको केही अंश प्रस्तुत छः
तपाईंका त्यस्ता के योजनाहरू कार्यान्वयन भए, जुन नगर विकासका मुख्य पक्षहरू हुन सक्छन् ?
–मेरो मुख्य एजेण्डा भनेको समाजवाद उन्मुख आधुनिकीकरणसँगै विविध पक्षको विकास गर्नु हो। जस्तै—निर्माणाधीन सडकहरू पूरा गर्ने र ग्राभेल सडकहरूलाई विस्तारै कालोपत्रे गर्दै लैजाने। अधुरा तथा नजोडिएका ठाउँहरूमा बिजुली बत्तीलाई पूर्णता दिने र त्यससँग सम्बन्धित अन्य कामहरू पनि भइरहेका छन् ।
नगरमा पुल र सडकको अति आवश्यक ठाउँहरू पनि छन्। त्यसका बारेमा के सोच्नुभएको छ ?
–सडक, पुल र कलभर्टहरू जुन अधुरा थिए, ती विस्तारै बनेका छन् र बनिरहेका पनि छन् । धेरैजसो पुराना सडकहरूलाई ग्राभेल तथा कालोपत्रे गरेका छौं । अब रतुवा र बक्राहा खोलामा ठूला पक्की पुलहरू बनाउन नसके पनि झोलुङ्गे पुलहरू निर्माण भएका छन् । लामो समयसम्म अलपत्र परेको रतुवाको पक्की पुल पनि सम्पन्न भएको छ । नगरको बजेटले भ्याएसम्म आवश्यक ठाउँहरूमा सडक बत्ती तथा निर्माण कार्य भइरहेको छ र हुने क्रममा पनि छन् । साथै रतुवा र बक्राहा नदीको तटबन्धन गर्नु अहिले ठूलो आवश्यकता देखिएको छ, यसतर्फ पनि हामीले योजना बनाएका छौं ।
अहिले दमकलको विषयमा सामाजिक सञ्जालमा विभिन्न किसिमका टिप्पणीहरू देखेको छु । दमकल आउन ढिला भएकै हो । हामीले खुलाएको टेण्डर चीनले स्वीकार गरेको थियो र दमकल आउने पनि भएको थियो । तर चीनबाट ल्याइने उपकरणको मर्मतसम्बन्धी सामग्री यहाँ सहज रूपमा उपलब्ध नहुने रहेछ भन्ने गुनासो आयो । त्यसपछि उक्त टेण्डर रद्द गर्न समय लाग्यो । सबै प्रक्रिया पूरा गर्नुप¥यो । अब हामीले भारतबाट दमकल ल्याउने प्रक्रिया पूरा गरिसकेका छौं ।
एम्बुलेन्स सेवा पनि मैले सबै नगरबासीका लागि रातदिन नभनी सञ्चालनमा राखेको छु । अरू पालिकाहरूले सामान्य शुल्क लिने गरेका छन्, तर मैले एम्बुलेन्स सेवा निःशुल्क हुनुपर्छ भन्ने व्यवस्था गरेको छु । गरिब तथा विपन्न परिवारका बिरामी र मृत्यु संस्कारका लागि उपचार खर्च तथा किरिया खर्चस्वरूप रु. ५,०००, सिँचाइ निःशुल्क र ८० वर्ष नाघेका वृद्धहरूलाई मासिक थप रु. १,००० उपलब्ध गराइएको छ । ठूला खालका बिरामीलाई रु. १,००,००० सम्म सहयोग पनि नगरले उपलब्ध गराउँदै आएको छ । नगरको बजेटले भ्याएसम्म र मैले सकेसम्म जनताका लागि काम गरेको छु जस्तो लाग्छ ।
कृषि सम्बन्धी के कस्ता कामहरू भए र हुँदै छन् ?
–देश कृषि प्रधान देश हो । त्यसमा पनि रतुवामाईका हामी सबै किसान नै हौं । हाम्रो मुख्य जीविकोपार्जन कृषि नै हो । त्यसैले सुलभ र सहज रूपमा कृषि उत्पादन कसरी बढाउने भन्ने मुख्य कुरा हो । त्यसका लागि कृषिको आधुनिकीकरण गर्नुपर्छ । सामान्य किसानसम्म कृषि यन्त्रको पहुँच पु¥याउनुपर्छ र मल, बीउको उचित व्यवस्थापन हुनुपर्छ । तर अहिले जुन गतिमा हुनुपर्ने हो, त्यो हुन सकेको छैन । यसको मुख्य कारण नगरसँग पर्याप्त कृषि बजेट नभएको हो ।
अर्कोतर्फ पहुँच हुनेहरूले मात्र सुविधा पाएको गुनासो पनि आएको छ । तर मैले सकेसम्म यस्तो हुन दिएको छैन । नगरको सुविधा सबै किसानले समान रूपमा पाउनुपर्छ भन्ने मेरो मान्यता छ । त्यसका लागि कृषि औजारहरू सहुलियतमा वितरण भइरहेको छ ।
किसानको अर्को समस्या भनेको बजारको अभाव हो । त्यसका लागि किसानले उत्पादन गरेका सामग्रीहरू विराटनगर, इटहरी, दमक, धरानजस्ता सहरहरूमा पु¥याउने योजना बनाएका छौं । यसका लागि सम्बन्धित निकायसँग समन्वय पनि भइरहेको छ र विस्तारै कार्यान्वयन हुनेछ भन्ने विश्वास छ । यसबाट किसानले उचित मूल्य पाउनेछन्, उत्पादन खेर जाने डर हट्नेछ र रोजगारी पनि सिर्जना हुनेछ—जस्तै ढुवानी, भण्डारण र संकलनमा ।
रोजगारकै सिलसिलामा रतुवामाईको उत्तर र दक्षिण क्षेत्रमा उद्योग स्थापना गर्ने योजना पनि बनाइएको छ । बक्राहा र रतुवा नदी आसपासका क्षेत्र उपयुक्त देखिएका छन् । यसले वातावरण संरक्षणसँगै रोजगारी सिर्जना गर्नेछ । धेरै उद्यमीहरू सकारात्मक देखिएका छन् ।
स्वास्थ्य र खेलकुदको बारेमा ?
–स्वास्थ्य र खेलकुदको सम्बन्ध नङ र मासुको जस्तो हो । त्यसैले स्वस्थ रहन खेलकुद आवश्यक छ । नगरले खेलकुदलाई प्राथमिकता दिएको छ । उत्कृष्ट खेलाडीलाई प्रोत्साहनस्वरूप प्रत्येक वर्ष रु. १०,००० प्रदान गरिएको छ । वडा नं. ८ इटहरामा प्रदेशकै ठूलो फुटसल रंगशाला निर्माण सुरु भएको छ । सबै वडामा खेलमैदान निर्माण गर्ने लक्ष्यअनुसार काम भइरहेको छ ।
स्वास्थ्यतर्फ सबै वडामा स्वास्थ्य चौकी स्थापना गरिएको छ । विकट क्षेत्रमा स्वास्थ्य क्लिनिक स्थापना गर्ने योजना छ । दलित, विपन्न तथा सन्थाल समुदायका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ । झुर्कियाको अस्पतालमा १५ शैयाको भवन निर्माण भइसकेको छ, जसले स्थानीयलाई ठूलो राहत दिनेछ ।
शिक्षा क्षेत्रको अवस्था ?
–म शिक्षक भएकाले शिक्षा क्षेत्रलाई नजिकबाट बुझेको छु । अहिले सूचना प्रविधिको युग हो, त्यसैले आइटीमार्फत शैक्षिक बेरोजगारी अन्त्य गर्ने लक्ष्य नगरले लिनुपर्छ भन्ने मेरो धारणा छ । नगरभरिका विद्यालयहरूको अनुगमन गरिएको छ । कमजोर विद्यालयहरूमा टिनको छाना, झ्यालढोका मर्मत, कम्प्युटर व्यवस्थापन, प्राविधिक शिक्षक र प्राविधिक शिक्षा सञ्चालनमा सहयोग गरिएको छ ।
हाम्रो जस्तो विकासोन्मुख नगरमा गर्नुपर्ने कामहरू धेरै छन् । त्यसका लागि भ्रष्टाचाररहित कार्ययोजना आवश्यक छ । जनताको माया, विश्वास र सहयोगले मात्र यो सम्भव छ ।























