झापाको रतुवा खोलामा १० दिनअघि बोराभित्र फेला परेको युवतीको शव प्रकरणको रहस्य खुलेको छ ।
पैसाको लेनदेनमा भएको विवादले उग्र रूप लिँदा २१ वर्षीया युवतीको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको हो । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले दमक–५ मा डेरा गरी बस्ने ३४ वर्षीय भारतीय नागरिक राकेश कुमार पण्डितलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन गर्दै दमक–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्यामा पण्डितको संलग्नता पुष्टि भएको जनाएको छ । भारतको बिहार, अररिया घर भएका पण्डित दमक क्षेत्रमा टायल्स तथा मार्बल जडानको ठेक्कापट्टा गर्ने मिस्त्री हुन् । गत जेठ १६ गते दमक–१० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोरामा प्याक गरिएको अवस्थामा बेवारिसे शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
प्रहरी अनुसन्धानका अनुसार तिवारी र पण्डितबीच जेठ १६ गते भेट भएको थियो । दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकैको झाडीमा उनीहरूबीच शारीरिक सम्पर्क भएको र त्यसबापत पण्डितले पैसा समेत दिएको खुलेको छ । तर, थप रकमको विषयलाई लिएर दुवैबीच विवाद सुरु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
‘आर्थिक लेनदेनमा कुरा नमिलेपछि किशोरीले जबरजस्ती करणीको मुद्दा लगाउने धम्की दिएको र सोही आवेगमा पण्डितले घाँटी थिचेर हत्या गरेको बयानबाट देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । हत्यापछि शव व्यवस्थापनका लागि पण्डितले अर्को मोटरसाइकल मे २ प ८२३ प्रयोग गरी शवलाई बोरामा बाँधेर पुलमुनि फालेका थिए ।
हत्यापछि पक्राउ पर्ने डरले पण्डित सोही दिन भारततर्फ फरार भएका थिए । घटना साम्य भएको ठानेर ३–४ दिनपछि उनी जेठ २० गते पुनः दमक फर्किएका थिए । उनी नेपाल आएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकका नायव निरीक्षक हरि बहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले उनलाई जेठ २१ गते राति उनकै डेराबाट नियन्त्रणमा लिएको हो ।
झापा प्रहरी प्रमुख एसपी बसुन्धारा खड्काकी अनुसार घटनास्थलको सूक्ष्म निगरानी, सीसीटीभी फुटेजको विश्लेषण र कल डिटेल रेकर्ड सीडीआर का आधारमा प्रहरी आरोपितसम्म पुग्न सफल भएको हो । सुरुमा पहिचान हुन नसकेको शवलाई पछि मृतकका बुबा नारायण तिवारीले सनाखत गरेका थिए ।
प्रहरीले घटनामा प्रयोग गरिएको मोटरसाइकल र आरोपितले घटनाका बेला लगाएका लुगाहरू समेत बरामद गरेको छ । पक्राउ परेका पण्डितविरुद्ध झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी कर्तव्य ज्यान र जबरजस्ती करणीको कसुरमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























