संगिता राई

पथरी । मोरङको पथरी शनिश्चरेमा कला साहित्य प्रवर्द्धन समिति, पथरी शनिश्चरेले स्वर्गीय दिपेन्द्रराज तिम्सिनालाई मरणोप्रान्त सम्मान गरेको छ।
शनिबार पथरी शनिश्चरेमा आयोजित सृजना विमर्श तथा स्रष्टा सम्मान कार्यक्रममा स्वर्गीय तिम्सिनाकी धर्मपत्नी लीला देवी निरौला ‘दुर्गा’लाई एक भव्य कार्यक्रमका बीच सम्मानित गरिएको हो।
उक्त अवसरमा उनलाई कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाे र वरिष्ठ साहित्यकार मनु मञ्जिलले दोसल्ला ओढाएर २५ हजार रुपैयाँ नगद सहित स्वर्गीय लेखक दिपेन्द्र राज तिम्सिनाको अर्धकध तस्वीर र सम्मान पत्रले सम्मानित गरिएको थियो। स्वर्गीय लेखक तिम्सिनाले नगर क्षेत्रलाई कर्म क्षेत्र बनाएर एक दर्जन बढी पुस्तक प्रकाशित गरी योगदान पुर्‍याएका थिए।
कला साहित्य प्रवर्धन समितिका अध्यक्ष धनराज राई ‘अमिर’को अध्यक्षतामा भएको कार्यक्रममा सुमन बरालको परिकल्पना र जीवन बरालद्वारा निर्देशित “छोरी मान्छे भएर” शीर्षकको नाटक प्रदर्शन गरिएको थियो। सामाजिक व्यथिति तथा कुरीति विरुद्ध आवाज उठाउन अभिप्रेरित गर्ने उक्त नाटक १० दिने कार्यशालाबाट तयार पारि आज आठौं राष्ट्रिय महिला दिवसको अवसर पारेर मञ्चन गरिएको थियो। संस्कारका नाममा दासी हैन, समानता देऊ “भन्ने मूल आशयका साथ मञ्चन भएको उक्त नाटकमा नगरभित्रका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरूले जीवन्त अभिनय गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तुम्वापाेले ‘भाषा कला साहित्य मानव अङ्गको रूपमा रहेकोले तिनको संरक्षण गर्न र प्रवर्द्धन गर्न नगरपालिका सदैव तयार रहेको’ उल्लेख गरे। उनले परिवार र पुरुष सदस्यले महिलाहरू माथि दुर्व्यवहार गरेको विषयवस्तुलाई नाटकले वर्षौंदेखि रहेको समस्यालाई उजागर गरेको उल्लेख गरे। सोही अवसरमा साहित्यकार मनु मञ्जिलले साहित्य, कला, संगीत चित्रकला जस्ता विधामा मानवीय करुणा र संवेदनशीलता भरिएको हुनुपर्ने बताए।
कला साहित्य प्रवर्तन समिति पथरी शनिश्चरेका अध्यक्ष धनराज राई अमिरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत छात्र छात्राहरूले कविता, गीत, गजल, गायन, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए।
उक्त अवसरमा साहित्यकार धनकुटे कान्छा,विवश बलिभद्र कोइराला, रोहित पराई, राजेन्द्र विवस, रेखा सुवेदी लगायतले सुन्दर रचनाहरू वाचन गरेका थिए । यसैगरी, सोही कार्यक्रममा एभरेष्ट बोर्डिङ्ग स्कुलकी ओसियन सेन्चुरी, सिंह बहिनी माविकी लाजिमा सुन्दास लगायतले सुन्दर गायन प्रस्तुति गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय