दमक। झापाको दमक नगरपालिका–१०, सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि शंकास्पद अवस्थामा महिलाको शव फेला परेको छ । शनिबार बिहान करिब ११ बजे सेतो प्लाष्टिकको बोरामा पोको पारिएको शव फेला परेको हो । अन्दाजी ३०–३२ वर्षीया महिलाको शवको पहिचान खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काका अनुसार बोरा भित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा अन्तकतैबाट शव ल्याएर पुल माथिबाट फालेको जस्तो देखिन्छ । प्रहरीका अनुसार शव २–३ दिन पुरानो हुनसक्ने अनुमान छ । मृतक महिलाले रातो रङको भेष्ट र जिन्सको पेन्ट लगाएकी छिन् । महिलाको देब्रो हातमा ट्याटु पनि छ । डिएसपी खड्काका अनुसार शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । महिलाको ट्याटु र हुलियाका आधारमा प्रहरीले पहिचानको प्रयास गरिरहेको छ ।























