सरोज बस्नेत
पूर्वी मोरङको सम्भावना बोकेको नगरभित्र पर्दछ, उर्लाबारी नगरपालिका । हालको उर्लाबारी नगरपालिका २०३५ सालमा मधुमल्ला गाउँ पञ्चायतको ५ र ९ नं वडा, लेटाङ गाउँ पञ्चायतको ७,८ र ९ नं वडाका केही भाग मिलेर उर्लाबारी बनेको थियो । उर्लाबारी गाविसलाई सरकारले २०७१ बैशाख २५ गतेको निणर्यानुसार नगरपालिकाको रुपमा घोषणा गरेको थियो । तत्पश्चात सरकारको २०७३ फागुन २७ को पुर्नसंरचनाको निर्णयानुसार साविक उर्लाबारी नगरपालिकामा साविक राजघाट गा.वि.स. र साविक मधुमल्ला गा.वि.स. को वडा ७, ८ र ९ समायोजन भई उर्लाबारी नगरपालिकाको रुपमा कार्यान्वयन भएको थियो । उर्लाबारीमा प्राकृतिक रुपमा जैविक विविधताले भरिपूर्ण वन, सिमसार, खोला नाला र भौतिक रुपमा विभिन्न मठ मन्दिर, गुम्बा, माङ्हिम, चर्च, मस्जिद र बहुसांस्कृतिक रुपमा मिलेर बसेको समुदाय रहेको छ । यहाँ, ब्राह्मण, क्षेत्री, राई, लिम्बू, धिमाल, मगर, गुरूङ, नेवार, तामाङ, सन्थाल, दनुवार, झाँगड, उराउ, दमाई, कामी, मारवाडी, मधेसी, मुस्लिमलगायत जातजातिको मिश्रित बसोबास रहेको छ । यहाँ बसोबास गर्ने समुदायको मुख्य पेसा कृषि र पशुपालन नै रहेपनि शहरीकरणसँगै व्यापार, व्यवसाय, नोकरी र वैदेशिक रोजगार मुख्य आयस्रोतका रुपमा रहेका छन् । वरिपरी खोलैखोलाले घेरिएको यस नगरपालिकाको पूर्वमा झापा जिल्लाको दमक नगरपालिका, पश्चिम क्षेत्रमा पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिका, उत्तरमा मिक्लाजुङ्ग गाउँ पालिका र दक्षिणमा रतुवामाई नगरपालिकासँग सीमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने ७४.६२ वर्ग कि.मि. रहेको छ । समुन्द्री सतहबाट २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी देशान्तर भूभागमा यस नगर पालिका अवस्थित रहेको पाइन्छ । यस नगरमा करिव ७०,६०५ जनसंख्या मध्ये ५१.१३ प्रतिशत महिला र ४८.८७ प्रतिशत पुरुष सहित १३७६१ घरधुरी रहेको पाइन्छ । अधिकांश भू–भाग खेतियोग्य जमिन भएतापनि बढ्दो सहरीकरणले यस क्षेत्रको विकासमा व्यवस्थित योजना बनाई कार्य गर्नुपर्ने जरुरी भएको अवस्था छ । सन्थाल भाषाको दुई शब्दहरु उर्ला (बाघ) र वाडि (ठाउँ) अथवा बाघ बस्ने ठाउँको रुपमा परिचित पुरानो जंगल क्षेत्र क्रमिक रुपमा मानिसको बसोवास वृद्धिसँगै नगर क्षेत्रको रुपमा विकसित भएको मान्न सकिन्छ । उर्लाबारी चौक दक्षिणतर्फ सिधा मोरङ जिल्लाको सदरमुकाम तथा प्रदेश नं. १ को राजधानी विराटनगर पुग्ने बैकल्पिक सडक तथा उत्तरतर्फ उत्तर मधुमल्ला हुँदै पाँचथरको रविसम्म जाने बाटो रहेको छ । पाँचथरको रबीसम्मको सडक ब्यवस्थित बनाउन सकेको खण्डमा उर्लाबारी ब्यापारिक केन्द्र बन्ने देखिन्छ । जसका कारण पनि उर्लाबारी पूर्वी मोरङको महत्वपूर्ण शहरमा गनिन्छ । साथै उर्लाबारीको किसान चौक, टाँडी हुँदै रमितेसम्म पुग्ने सडक पनि कालोपत्रेको प्रक्रियामा छ । उक्त सडक कालोपत्रे सम्पन्न भएसँगै पहाडी क्षेत्रमा उत्पादित बस्तुहरु सिधै उर्लाबारी ल्याउन सहज बन्ने छ । उर्लाबारीको चिउरामिल हुँदै आम्बारी–भोटेपुल पनि बर्षेनी सडक कालोपत्रे भइरहेको छ । यसका अलवा उर्लाबारीका हरेक स्थानमा सडक कालोपत्रे तथा ग्राभेललगायतका काम तीब्र गतिमै अघि बढिरहेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासका गतिबिधि पनि उत्तिकै मात्रामा प्राथमिकताका साथ अघि बढिरहेका छन् । साथै उर्लाबारी क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुले पनि उर्लाबारीको गरिमा बढाइरहेका छन् । बेतिनी सिमसार, बुढा ठाकुर, लामपाते सिमसार, बाँसेचौरीलगायत सम्भावना बोकेका पर्यटकीय स्थलहरु रहेका छन् । त्यस्तै, जननेता मदन भण्डारीको संग्रहालय, सोही संग्रहालयमा बाल उद्यान, स्वीङ पुल, रेललगायत हुनुले पनि आन्तरिक तथा बाध्य पर्यटकहरुको आकर्षण देखिएको छ । साथै अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रका कारण पनि उर्लाबारी परिचित रहेको छ । उर्लाबारी मन्दिरैमन्दिरको शहरका रुपमा पनि प्रख्यात रहेको छ ।
को को बने हालसम्म जनप्रतिनिधि ?
साविक उर्लाबारी नगरपालिकामा साविक राजघाट गा.वि.स. र साविक मधुमल्ला गा.वि.स. को वडा ७, ८ र ९ समायोजन भई उर्लाबारी नगरपालिका बन्यो । तर, हालसम्म यो क्षेत्रको को को जनताको प्रतिनिधि भई काम गरे भन्ने आम जनतामा जिज्ञासा रहेको पाइन्छ । उर्लाबारी नगरपालिकामा रहेको तथ्यांक अनुसार कहरमान धिमाल पहिलो प्रधानपञ्च थिए । उनी २०१८–२०२२–२०२६ सम्म साविक राजघाटको प्रधानपञ्च भई सेवा गरे । १९७४ मा जन्म भएका कहरमानको मृत्यु २०४७ मा भएको थियो । त्यसपछि कुलबहादुर लिम्बू पोमूले २०२६–२०२९–२०३४ सम्म राजघाटको प्रधानपञ्च बनेर काम गरे । उनको १९९१ मा जन्म भएको थियो भने २०६१ मा निधन भएको थियो ।
त्यस्तै, २०३४–२०३९ सम्म सर्वलाल धिमाल साविक राजघाटको प्रधानपञ्च बनेका थिए । १९९१ मा जन्म भएका सर्वलालको २०७६ मा निधन भएको थियो । उर्लाबारीको २०३५–२०३९–२०४३–२०४७ सम्म उपेन्द्र थापा प्रधानपञ्च बने । १९९५ मा जन्म भएका थापाको २०६१ मा निधन भएको थियो । साविक राजघाटको २०३९–२०४३–२०४६ सम्म इन्द्रबहादुर राई प्रधानपञ्च बने । १९९७ मा जन्म भएका राईको २०६९ मा निधन भयो । त्यस्तै, साविक उर्लाबारीको २०४९–२०५४–२०५९ सम्म घनेन्द्र जिमी गाविस अध्यक्ष बने । २०१८ मा जन्म भएका जिमीको २०६७ सालमा निधन भयो । त्यस्तै, साविक राजघाटको २०४९–२०५४–२०५९ गाविसको अध्यक्ष चन्द्रकुमार थेबे अध्यक्ष बने । २०१५ सालमा उनको जन्म भएको थियो । नगरपालिका भएपछि पहिलो मेयरको रुपमा खड्ग फागो निर्वाचित भए । हाल फागोले नै उर्लाबारी नगरपालिकाको मेयरको जिम्मेवारी निर्वाह गर्दै आउनु भएको छ ।

उर्लाबारीलाई उज्यालो र ब्यवस्थित नगर बनाउने संकल्प
स्थानीय तहमा जनप्रतिनिधिहरुको आगमनसँगै उर्लाबारीलाई सुन्दर, शिक्षित, समृद्ध र सुशासनयुक्त हरित पर्यटकीय नगर निर्माण बनाउने संकल्पका साथ अघि बढिरहेका छन् । साथै उर्लाबारीलाई उज्यालो र ब्यवस्थित शहर बनाउने अभियानमा पनि जनप्रतिनिधिहरु लगि गरेको देखिन्छ । पूर्वपश्चिम राजमार्गको अलवा भित्री सडकहरुमा समेत सडक बत्ती जडान गरी उज्यालो उर्लाबारी बनाउने अभियान चलिरहेको छ भने पूर्वपश्चिम तथा भित्री सडकहरुलाई ब्यवस्थित बनाउन जनप्रतिनिधिहरु लागि परेका छन् । साथै आर्थिक रुपले विपन्न, लक्षित समुदायको जीवन स्तर सुधारका लागि पनि नगरपालिकाले विविध कार्यक्रम चलाइरहेको छ । विकास निर्माणका कार्य समेत जनप्रतिनिधि आएपछि तीब्र गतिमा अघि बढेको छ । उर्लाबारी वडा नं. १, २ र ३ को भवन निर्माण भइरहेको छ भने आधारभूत स्वास्थ्य केन्द्रका पनि भवन बन्दैछन् । उर्लाबारी नगरपालिकाले ४७ लाखमा दमकल खरिद गरी ल्याइसकेको छ । जनतालाई अनुभूति दिलाउने गरी जनप्रतिनिधिहरुले काम गरिरहेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो बताउनुहुन्छ । जनताको हित बाहेक केही नसोचेको बताउँदै उर्लाबारीलाई समृद्ध र नमूना शहर बनाउने संकल्प बोकेर हिँडिरहेको उहाँको भनाई छ ।
पर्यटकीय स्थलको अवस्था के छ ?
उर्लाबारी नगरपालिका पर्यटन विकासमा बढी मात्रामा सम्भावना बोकेको देखिन्छ । यहाँ पर्यटकीय सम्भावना धेरै छन् । उर्लाबारीमा बेतिनी, लामपाते, बुढा ठाकुर, बाँसेचौरीलगायतका सिमसार क्षेत्रहरु रहेका छन् । सिमसार युक्त पर्यटकीय नगरीका रुपमा परिभाषित गर्दै उर्लाबारी नगरपालिकाले पनि सिमसार क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्दै आएको छ । उर्लाबारी–२ मा रहेको बेतिनी सीमसार आन्तरिक पर्यटकीय क्षेत्रको रुपमा परिणत भएको छ भने अन्य सिमसारहरुको उचित संरक्षण र प्रवद्र्धन हुन सकेको छैन । त्यस्तै, उर्लाबारी–३ मा जननेता मदन भण्डारीको मृत्युपछि २०५० सालमा नै उर्लाबारीमा मदन भण्डारी स्मृति प्रतिष्ठानको स्थापना भएको थियो । सोही प्रतिष्ठानले भण्डारीको राजनीतिक, सामाजिक एवम् पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा मदन भण्डारी संग्रहालय निर्माण गरेको छ । मदन भण्डारीको जन्मदेखि मृत्युसम्मका संग्रहालयमा समेटिएको छ । जसका कारण पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । त्यस्तै, मदन भण्डारी स्मृति प्रतिष्ठानले संग्रहालय अगाडि बाल उद्यानमा निर्माण गरेको छ । उद्यानको बिचममा भण्डारीको पूर्णकदको सालिक रहेको छ । उद्यानमा बालबालिकालाई मनोरञ्जनका लागि विद्युतीय रेल, चिप्लेटी, पिङ, फूलबारी, पानीको फोहोरा, स्मीङ पुललगायत रहेका छन् । स्लाईडिङ पुल अर्को आकर्षण बनेको छ । दुई बिघा क्षेत्रफलमा रहेको प्रतिष्ठान हाताभित्र भण्डारीको पूर्णकदको शालिक, संग्राहलय र बाल उद्यानले आन्तरिक पर्यटकहरुलाई आकर्षित गरेको हो । विशेष गरेर शनिबार तथा विदाका दिन यहाँ आगन्तुक बढी आउने गरेका छन् ।
उर्लाबारीका गौरबका आयोजना
उर्लाबारी नगरपालिकाले उर्लाबारी वडा नं. ४ को बक्राहा घाट र झुम्राहा कजबेमा पुल निर्माणलाई उर्लाबारीको गौरबको आयोजनामा राखिएको छ । नगरसभाले ५०÷५० लाख बजेटसमेत छुट्याएको छ । तर, कामले मुर्त रुप लिन नसकेको छैन । बर्षादको समयमा बर्षेनी बक्राहा घाटमा शब अन्तेष्टी गर्न सास्ती खेप्नु पर्दै आएको छ ।
उर्लाबारीमा सन्थाल समुदायलाई बस्ती
शहरी विकास मन्त्रालयले उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत वस्ती बनाउने भएको छ । एकीकृत सन्थाल वस्ती निर्माणको लागि मन्त्रालयले गुरु योजना तयारी गरिसकेको छ भने फागुन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो वस्ती शिलान्यास गरिसक्नु भएको छ । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा सन्थाल एकीकृत वस्ती विकास बन्नेछ । सन्थाल एकीकृत वस्ती विकास कार्यक्रमको लागि उक्त समुदायमा गएर गरिएको सर्भेक्षणअनुसार उक्त नगरपालिकामा १०६ परिवार सन्थाल र २६ परिवार उराव जातिको जग्गा नभएको र २७ परिवार सन्थाल जातिको घर बनाउन पुग्ने आफ्नै जग्गा भए पनि आफ्नो घर बनाउन नसक्ने स्थिति रहेको थियो । त्यसपछि मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो । पुरै वस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने जनाइएको छ । मन्त्रालय मातहतको सघन शहरी तथा भवन निर्माण विभागका अनुसार रातोहोलीको उत्तर दक्षिण फैलिएको ७८० मिटर लम्बाई भित्र पर्ने करिब ५२,८२८ व.मी. जग्गाबाट खोल्सीको बहाव रहेको चौडाई ११ मिटर, रातोहोलीको २७ मिटर चौडाईमा पर्ने २१,०६० व.मी. जग्गा छाडी बाँकी खोल्सी पूर्वको ३१,७६८ व.मी. जग्गामा सन्थाल एकीकृत वस्ती बन्नेछ । एकीकृत वस्ती विकास सन्बन्धी कार्यविधि २०७५ अनुसार नै सन्थाल वस्तीको निर्माण स्थानिय प्रविधि, सिप र सामाग्री प्रयोग गरी प्रत्येक परिवारका लागि कम्तीमा २ सय कोठा, एक भान्साघर र एक शौचालयको व्यवस्था गरिने विभागले जनाएको छ । समग्र वस्तीका लागि भने आवश्यक पर्ने अन्य सामाजिक तथा आर्थिक पूर्वाधार अन्तर्गत सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाई, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतको निर्माण गर्नेगरी मास्टर प्लान डिजाइन गरिएको हो ।
उर्लाबारीको मुख्य समस्या
उर्लाबारी एक सम्भावना बोकेको शहर उन्मुख भएपनि यहाँ धेरै चुनौतिहरु रहेका छन् । बर्षाको समयमा बाढी पर्नसाथ उर्लाबारी डुबानमा पर्ने गरेको छ । अब्यवस्थित बसोबासका कारण पनि यो समस्या निम्तिरहेको छ । जथाभाबी जग्गा प्लटिङका कारण सार्वजनिक कुलो पैनी मासिएका छन् । जसका कारण उचित रुपमा ढल निकास हुन नसकेको कारण बर्सेनी उर्लाबारीबासीले डुबानमा पर्ने गरेका छन् । उर्लाबारी क्षेत्रका अधिकांश कुलो पैनीको जग्गा ब्यक्तिगत नाममा दर्ता गरिसकेको छ । जसका कारण आफु अनुकुल सानो पैनी र नाला बनाएर बिक्री वा घर निर्माण गर्ने क्रम बढेको छ । त्यसले गर्दा पनि समस्या उत्पन्न गराइरहेको छ । उचित रुपमा ढल निकास गर्न अतिआवश्यक बनिसकेको छ । यसमा सरोकारवाला निकायको ध्यानाकर्षण हुन जरुरी छ । यसका साथै बर्षेनी मुख्यगरी बक्राहा, बक्राहा, सोल्टीलगायत खोलाहरुले खेती योग्य जमिन कटानका साथै बस्ती नै जोखिममा पर्ने गरेका छन् । त्यसका लागि पनि दिगो तटबन्धन गर्नु आवश्यक देखिएको छ । साथै उर्लाबारीमा सार्वजनिक शौचालयको ब्यवस्थापन, बस पार्कलगायतका धेरै समस्याहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!