उर्लाबारी । मोरङको उर्लाबारी–४ स्कूलडाँडामा सञ्चालनमा आएको इनोभा कलेज अफ होटल म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै कलेजको उद्देश्य, योजना तथा शैक्षिक कार्यक्रमबारे जानकारी गराएको छ।
करिब ३ करोड रुपैयाँको लगानीमा ६ जना सञ्चालकहरूको संयुक्त पहलमा स्थापना गरिएको कलेजले सीपमूलक तथा व्यवहारिक शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ। कलेजका अध्यक्ष रमेश श्रेष्ठले हालको समय केवल सैद्धान्तिक शिक्षाले मात्र पर्याप्त नहुने भन्दै व्यवहारिक सीपसहितको शिक्षा आवश्यक रहेको बताए।
उनका अनुसार “विद्यार्थीले पढाइसँगै व्यवहारिक सीप सिकेर बजारमा प्रतिस्पर्धी बन्न सकून् भन्ने उद्देश्यले आधुनिक पूर्वाधारसहित कलेज सञ्चालनमा ल्याइएको हो।” उनले सरकारले तोकेको शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिने र विद्यार्थीलाई टाढा जानुपर्ने बाध्यता हटाउने लक्ष्यसमेत राखिएको उल्लेख गरे।
कलेज सञ्चालनमा मनिराज गजमेर, सबिन मग्राँती, सुजन श्रेष्ठ, मीनबहादुर रोक्का, आनन्द कार्की र गणेश खड्का लगायतको सक्रिय भूमिका रहेको छ।
कलेजका कोअर्डिनेटर गणेश खड्काले अनुभवी शिक्षकद्वारा अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अध्यापन गराइने जानकारी दिए। कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई सैद्धान्तिक र व्यवहारिक दुवै रूपमा दक्ष बनाइने तथा कोर्स सकेपछि राम्रो रोजगारीको अवसर प्राप्त हुने विश्वास बताइएको छ।
कलेजमा डिप्लोमा इन होटल म्यानेजमेन्ट (DHM), प्रोफेसनल डिप्लोमा (PDHM), डिप्लोमा इन कुलिनरी आर्ट्स (DCA), होटल म्यानेजमेन्टतर्फ +२ तथा ECA कार्यक्रम सञ्चालन गरिनेछ। साथै फुड प्रोडक्सन, हाउसकिपिङ, बार तथा रेस्टुरेन्ट व्यवस्थापनका लागि अत्याधुनिक ल्याब र प्रयोगात्मक कक्षाको व्यवस्था गरिएको छ।
सञ्चालक सुजन श्रेष्ठका अनुसार पाँचतारे होटलको कन्सेप्टमा आधारित संरचना र अभ्यासमार्फत विद्यार्थीलाई प्रत्यक्ष उद्योगसँग जोडेर सिकाइ गराइनेछ। कलेजमा १६० विद्यार्थीको कोटा निर्धारण गरिएको छ।
सैद्धान्तिक कक्षा उर्लाबारी–७ स्थित पशुपति बोर्डिङ स्कूलसँगको सहकार्यमा सञ्चालन हुनेछन् भने व्यवहारिक कक्षा कलेजकै आधुनिक भवनमा सञ्चालन गरिने व्यवस्था गरिएको छ।
सञ्चालक मनिराज गजमेरले कलेजलाई कोशी प्रदेशकै उत्कृष्ट होटल म्यानेजमेन्ट शिक्षालय बनाउने लक्ष्य राखिएको बताए। “विद्यार्थीले विदेशमा जस्तै वातावरणमा सिक्न पाऊन् भन्ने सोचले कक्षाकोठादेखि प्रयोगात्मक सामग्रीसम्म आधुनिक बनाइएको छ,” उनले भने।
उर्लाबारीजस्तो विकसित हुँदै गएको नगरमा सञ्चालनमा आएको यस कलेजले स्थानीय विद्यार्थीलाई प्राविधिक तथा सीपमूलक शिक्षामा नयाँ अवसर प्रदान गर्ने बताइएको छ। होटल तथा पर्यटन क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्दै स्वरोजगार र रोजगारी सिर्जनामा योगदान पुग्ने सञ्चालक आनन्द कार्कीले बताएका छन्।
कलेज परिसरमै आयोजित पत्रकार सम्मेलनमार्फत कलेज प्रशासनले यस्ता योजनाबारे औपचारिक जानकारी गराएको हो।























